काठमाडौं, कात्तिक १५ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको स्वेच्छाचारी गतिविधिले सीमा नाघेको टिप्पणी गरेको छ ।
शुक्रबार सञ्चार गृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरेको घटनाप्रति आपत्ति जनाउँदै कांग्रेस सभापति गगनकुमार थापाले सरकार सानो समूहको स्वेच्छाचारी गतिविधिबाट सञ्चालन भइरहेको बताउनुभएको छ । सरकारका पछिल्ला गतिविधिबारे धारणा सार्वजनिक गर्दै उहाँले अब चुप लागेर बस्न नसकिने स्पष्ट पार्नुभयो ।
अप्ठ्यारो परिस्थितिमा सरकारले सहयोग माग्दा प्रतिपक्षमा रहेर पनि निःसर्त साथ दिएको उल्लेख गर्दै थापाले लोकतन्त्र, मौलिक हक र प्रेस स्वतन्त्रतामाथि सीमा नाघ्ने गतिविधि भए कांग्रेसले प्रतिवाद गर्ने बताउनुभयो ।
उहाँले सञ्चार गृहमा प्रहरी प्रवेश गरेर धरपकड गर्नु र पत्रकार पक्राउ गर्ने कार्यले शाहीकालको स्मरण गराएको टिप्पणी गर्नुभयो ।
‘सानो समूहले हामी नै राज्य हौँ भन्ने, हामीले बोलेको कुरा हुकुम हुन् भन्ने बुझ्यो । राज्यका निकाय हाम्रा आदेश पालन गर्ने निकाय हुन् भन्ने भ्रम देखियो । यो प्रवृत्तिले हद नाघ्यो । अब यसलाई सामान्य रूपमा लिन सकिँदैन,’ उहाँले भन्नुभयो ।
समाचार लेख्ने सञ्चारमाध्यममाथि भएको धरपकडको घटनालाई निष्कर्षमा पुर्याएर दोषीमाथि कारबाही गर्नुपर्ने कांग्रेसको माग रहेको उहाँले बताउनुभयो । घटनालाई त्यसै छाड्ने कार्य स्वीकार्य नहुने उल्लेख गर्दै उहाँले यसमा सरकारले राज्य, नागरिकको अधिकार, अभिव्यक्ति स्वतन्त्रता र प्रेसलाई कसरी हेरेको छ भन्ने स्पष्ट हुनुपर्ने धारणा राख्नुभयो ।
सभापति थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आफ्नो नेतृत्वको सरकारलाई सीमाभित्र राख्न पनि सुझाव दिनुभयो । उहाँले तत्काल संसदीय दलको बैठक बोलाएर प्रधानमन्त्रीलाई निर्देशन दिन र घटनामा संलग्न दोषीमाथि कारबाही गराउन आग्रह गर्नुभयो ।
‘रास्वपाको संसदीय दलको बैठक बसोस् । सरकारलाई निर्देशन देओस् । प्रधानमन्त्रीले त्यसलाई कार्यान्वयन गरून्, हामीले खोजेको यही हो,’ उहाँले भन्नुभयो ।














प्रतिक्रिया दिनुहोस्