जनता टाइम्स

१५ कार्तिक २०८३, आइतबार २०:३०

पत्रकारलाई त्रसित पार्ने कार्य लोकतान्त्रिक व्यवस्थामा स्वीकार्य हुँदैन : इन्सेक


काठमाडौं, कात्तिक १५ । मानव अधिकार संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले पत्रकार गिरफ्तारीप्रति आपत्ति जनाउँदै पत्रकारलाई त्रसित पार्ने कार्य लोकतान्त्रिक व्यवस्थामा परिकल्पना गर्न नसकिने जनाएको छ ।

इन्सेकका अध्यक्ष विजयराज गौतमले आइतबार विज्ञप्ति जारी गर्दै पत्रकार गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्म र लोकतान्त्रिक शासन व्यवस्थाको आधारभूत मान्यताविपरीत रहेको बताउनुभएको छ ।

शुक्रबार साँझ प्रहरीले नेपाल प्रेसको कार्यालयबाट पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजबाट शोभराज बराल र डीएनए खबरका प्रधान सम्पादक धिरज बस्नेतलाई पक्राउ गरेको थियो । प्रहरीले नयाँ पत्रिका र दियो पोस्टको कार्यालयमा पुगेर त्यहाँ कार्यरत पत्रकारको खोजीसमेत गरेको थियो ।

सञ्चार गृहमा प्रवेश गरी पत्रकार पक्राउ गर्ने र पक्राउको प्रयास गर्ने प्रहरीको कार्यप्रति आलोचना भएपछि सरकार पछि हट्नुपरेको तथा पक्राउ गरिएका पत्रकारलाई सोही दिन रिहा गर्नुपरेको इन्सेकले जनाएको छ ।

प्रकाशित समाचार वा त्यसको विषयवस्तुप्रति कुनै निकाय वा व्यक्तिको असहमति हुन सक्ने भए पनि पत्रकार र सञ्चार गृहमा धरपकड गरी त्रसित पार्ने कार्य लोकतान्त्रिक व्यवस्थामा स्वीकार्य नहुने विज्ञप्तिमा उल्लेख छ ।

स्वतन्त्र प्रेसले मात्रै सरकार र सार्वजनिक निकायका कामकारबाहीमाथि निगरानी गर्ने, नागरिकलाई सुसूचित गर्ने र राज्यलाई जवाफदेही बनाउने महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने इन्सेकको भनाइ छ ।

पत्रकार पक्राउको घटनाबारे सरकार, सरकारसम्बद्ध राजनीतिक दल र प्रहरीले अनभिज्ञता जनाउनु रहस्यमय रहेको पनि इन्सेकले जनाएको छ । घटनाबारे अनभिज्ञता जनाइनुले घटनाक्रमप्रति थप आशंका पैदा गरेको विज्ञप्तिमा उल्लेख छ ।

विगत केही समयदेखि सरकारबाट अभिव्यक्ति स्वतन्त्रताविपरीतका कार्य भइरहेको तथ्य सार्वजनिक हुँदै आएको भन्दै इन्सेकले सरकारलाई आफ्नो प्रतिबद्धता व्यवहारमै पुष्टि गर्न आग्रह गरेको छ ।

इन्सेकले नेपालको संविधानको धारा १७ ले विचार तथा अभिव्यक्ति स्वतन्त्रता र धारा १९ ले सञ्चारको हक सुनिश्चित गरेको स्मरण गराउँदै ती संवैधानिक अधिकारको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।