काठमाडौं, कात्तिक १५ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिन चेतावनी दिनुभएको छ।
आइतबार पार्टी कार्यालय सानेपामा बोल्दै उहाँले सरकार संसद्को मर्यादा, कानुनी शासन, पारदर्शिता र जवाफदेहिताजस्ता आधारभूत लोकतान्त्रिक मूल्यप्रति गम्भीर नदेखिएको टिप्पणी गर्नुभयो।
राज्यका निकायबाट पटक–पटक संसद्को मर्यादा र स्थापित विधि–प्रक्रियाको बेवास्ता हुने गरेको उहाँले बताउनुभयो। सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै कांग्रेस यस्ता विषयमा गम्भीर रहेको उहाँको भनाइ थियो।
सरकारका पछिल्ला गतिविधिबारे छलफल गर्न छिट्टै प्रतिपक्षी दलहरूको बैठक बस्ने र त्यसपछि सरकारप्रतिको साझा धारणा सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो। प्रतिपक्षी दलहरूबीच छलफल गरेर सरकारका कामकारबाहीबारे संस्थागत धारणा बनाउने तयारी रहेको उहाँले बताउनुभयो।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यशैलीमाथि पनि आङ्देम्बेले प्रश्न उठाउनुभयो। राम्रा कामको जस पार्टीले लिने तर नराम्रा कामको जिम्मेवारी सरकारमाथि थोपर्ने प्रवृत्ति देखिएको भन्दै उहाँले सत्तारूढ दल गैरजिम्मेवार ढंगले प्रस्तुत भइरहेको टिप्पणी गर्नुभयो।
सरकारले संसद्को मर्यादा र लोकतान्त्रिक मूल्य–मान्यताको पालना गर्नुपर्नेमा जोड दिँदै उहाँले कांग्रेसले यस्ता विषयमा आफ्नो भूमिका प्रभावकारी बनाउने बताउनुभयो।














प्रतिक्रिया दिनुहोस्