जनता टाइम्स

१६ कार्तिक २०८३, सोमबार १७:१०

एनपीएलमा काठमाडौं गोर्खाजको पहिलो जित, कर्णाली याक्स ४ विकेटले पराजित


काठमाडौं, कात्तिक १६। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजले पहिलो जित दर्ता गरेको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौंले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो। 

कर्णालीले प्रतियोगितामा पहिलो हार बेहोरेको छ। कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमाडौंले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो।

काठमाडौंको जितमा राशिद खानले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५० रन बनाए। त्यस्तै करण केसीले ४४, आदिल आलमले २० र डेभिड वार्नरले १६ रनको योगदान दिए। जहानदाद खान २२ रनमा अविजित रहे। काठमाडौंले अतिरिक्तमार्फत १० रन प्राप्त गरेको थियो।

कर्णालीका बलर सोमपाल कामी र हुसैन तलतले समान दुई-दुई विकेट लिए। नन्दन यादव र मार्क वाटले एक-एक विकेट हात पारे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो।

कर्णालीका लागि अरिफुल इस्लामले आक्रामक ब्याटिङ गर्दै ४४ रन बनाए। २१ बलको सामना गरेका उनले पाँच चौका र तीन छक्का प्रहार गरे। हुसैन तलतले ४० रन जोड्दा गुलशन झाले ११ बलमा २० रन बनाए।

त्यस्तै पवन सर्राफ ३० बलमा अविजित रहे भने मार्क वाटले १७ रनको योगदान दिए। कर्णालीले अतिरिक्तमार्फत १३ रन प्राप्त गरेको थियो।

काठमाडौंका बलर करण केसीले दुई विकेट लिए। शाहब आलम, देव शाह, सन्तोष यादव र जहानदाद खानले समान एक-एक विकेट हात पारे।

यस जितसँगै काठमाडौं गोर्खाजले प्रतियोगितामा आफ्नो पहिलो जितको खाता खोलेको छ भने कर्णाली याक्सको अपराजित यात्रा टुंगिएको छ।