काठमाडौं, कात्तिक १६ । सरकारकाे स्वतन्त्रताविरोधी गतिविधि र घटनाबाट जनताको ध्यान अन्यत्र मोड्न प्रतिपक्षी दलविरुद्ध सुनियोजित रूपमा भ्रम र आरोप फैलाइएको भन्दै नेपाली कांग्रेसले त्यसको खण्डन गरेको छ। पार्टी सभापति गगनकुमार थापाको सचिवालयले विज्ञप्ति जारी गर्दै कांग्रेसविरुद्ध फैलाइएका आरोपहरू निराधार, कपोलकल्पित र भ्रामक रहेको जनाएको हो।
सचिवालयद्वारा आज जारी विज्ञप्तिमा नेपाली कांग्रेसले पार्टीको विधान र प्रचलित कानुनअनुसार विशेष महाधिवेशन सम्पन्न गरी नेतृत्व तथा निर्णयको आधिकारिकताका सम्बन्धमा निर्वाचन आयोग र अदालतबाट भएका निर्णयलाई सम्मान गर्दै अघि बढेको उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “नेपाली कांग्रेसले पार्टीको विधान र प्रचलित कानुनबमोजिम विशेष महाधिवेशन गरी त्यसको नेतृत्व र निर्णयको आधिकारिकताका सन्दर्भमा निर्वाचन आयोग तथा सम्मानित अदालतका निर्णयले पुष्टि गरिसकेको छ।”
त्यसपश्चात् नेपालको संविधान, प्रचलित कानुन, पार्टी विधान र सर्वोच्च अदालतको आदेशका आधारमा हालै सम्पन्न १५औँ महाधिवेशनले समेत उक्त विषयलाई थप संस्थागत गरेको कांग्रेसको भनाइ छ।
सरकारले लोकतन्त्र, नागरिक स्वतन्त्रता र विधिको शासनविपरीत गतिविधि गर्दा कांग्रेसले त्यसको प्रतिवाद गर्ने गरेको उल्लेख गर्दै विज्ञप्तिमा यस्ता विषयबाट ध्यान अन्यत्र मोड्न पार्टी र नेतृत्वविरुद्ध विभिन्न भ्रम सिर्जना गर्ने प्रयास भइरहेको दाबी गरिएको छ। “जब जब सरकार उल्टो गतिमा हिँड्छ, जब लोकतन्त्र र नागरिक स्वतन्त्रताको खिलाफमा लाग्छ, तब नेपाली कांग्रेस पार्टी र नेतृत्वले लोकतन्त्र, जनअधिकार र विधिको शासनका सन्दर्भमा आफ्नो स्पष्ट धारणा राख्दै सशक्त ढङ्गले अगाडि बढ्छ,” विज्ञप्तिमा भनिएको छ।
कांग्रेसले लोकतन्त्र, सुशासन, जनसरोकार र विधिको शासनका पक्षमा सरकारले गर्ने गतिविधिमा आफ्नो साथ र समर्थन रहने तर नागरिक स्वतन्त्रता, शक्ति पृथकीकरण, प्रेस स्वतन्त्रता तथा संवैधानिक सर्वोच्चताविरुद्ध हुने गतिविधिको सशक्त प्रतिवाद गर्ने स्पष्ट पारेको छ।
यसैबीच, बिचौलियासँग सम्बन्धित विषय र त्यसमा जोडिएका प्रकरणहरूको अनुसन्धान निष्पक्ष, गहिरो र प्रमाणमा आधारित हुनुपर्ने पार्टी सभापति गगनकुमार थापाको भनाइ पनि सचिवालयले पुनः स्मरण गराएको छ। थापाले दोषी देखिने जोकोहीलाई कानुनी कारबाही गर्नुपर्ने बताउँदै यस विषयमा सरकारलाई कांग्रेसको पूर्ण साथ र समर्थन रहने धारणा राख्नुभएको थियो। तर अनुसन्धानको निष्पक्षतामाथि भने उहाँले गम्भीर प्रश्न उठाउनुभएको छ।
“बिचौलियासँग सम्बन्धित विषय र त्यसमा जोडिएका सबै प्रकरणको गहिरो, निष्पक्ष र प्रमाणमा आधारित अनुसन्धान हुनुपर्छ। दोषी देखिने जोकोहीलाई कानुनी कारबाही गरिनुपर्छ। यसमा सरकारलाई हाम्रो पूर्ण साथ र समर्थन छ। तर अनुसन्धान निष्पक्ष हुन्छ कि हुँदैन भन्नेमा हाम्रो गम्भीर प्रश्न र आशङ्का छ,” सभापति थापाको भनाइ उद्धृत गर्दै विज्ञप्तिमा उल्लेख गरिएको छ।
अनुसन्धानसँग सम्बन्धित नेपाल प्रहरीको छापसहितका तथ्य तथा प्रमाण र कथित बयानहरू छानिछानी सार्वजनिक गरिनुले अनुसन्धान प्रक्रियामाथि नै प्रश्न उठेको कांग्रेसको जिकिर छ। यसले केही प्रमाण लुकाउने वा नष्ट गर्ने प्रयास भइरहेको हुन सक्ने तथा समग्र अनुसन्धान प्रभावित हुने आशङ्का उत्पन्न गरेको विज्ञप्तिमा उल्लेख छ।
कांग्रेसले अपुष्ट आरोप, राजनीतिक पूर्वाग्रह र भ्रामक प्रचारका आधारमा कसैलाई आरोपित गर्ने प्रवृत्ति स्वीकार्य नहुने जनाएको छ। अनुसन्धानलाई निष्पक्ष बनाउन पार्टीको संसदीय दलले समेत निर्णय गरिसकेको उल्लेख गर्दै सम्बन्धित पक्षलाई प्रमाण र तथ्यका आधारमा जिम्मेवार ढङ्गले विषय प्रस्तुत गर्न आग्रह गरेको छ।
त्यसैगरी, आमनागरिकलाई पनि अपुष्ट सूचना र भ्रामक प्रचारका आधारमा धारणा नबनाउन कांग्रेसले अनुरोध गरेको छ। “लोकतन्त्रका सारभूत विषयमा आवाज उठाउँदा आइपर्ने जस्तोसुकै षड्यन्त्रको सामना गर्न नेपाली कांग्रेस तयार छ,” विज्ञप्तिमा भनिएको छ।














प्रतिक्रिया दिनुहोस्