जनता टाइम्स

१६ कार्तिक २०८३, सोमबार १६:४१

नेपाली कांग्रेसको आधिकारिकतामाथि प्रश्न उठाउने समाचार भ्रामक : सभापति गगन थापाको सचिवालय


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको सचिवालयले पार्टीका विषयमा केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका समाचार र आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सचिवालयले सरकारका पछिल्ला गतिविधिबाट जनताको ध्यान अन्यत्र मोड्न प्रतिपक्षी दल नेपाली कांग्रेसविरुद्ध सुनियोजित रूपमा भ्रम र आरोप फैलाइएको दाबी गरेको छ। त्यस्ता समाचार तथा आरोपहरू निराधार र कपोलकल्पित रहेको सचिवालयको भनाइ छ।

सचिवालयले पार्टीको विधान र प्रचलित कानुनअनुसार सम्पन्न विशेष महाधिवेशन तथा त्यसबाट आएको नेतृत्व र निर्णयको आधिकारिकता निर्वाचन आयोग र अदालतका निर्णयबाट पुष्टि भइसकेको जनाएको छ।

त्यसैगरी नेपालको संविधान, प्रचलित कानुन, पार्टी विधान र सर्वोच्च अदालतको आदेशका आधारमा हालै सम्पन्न १५औँ महाधिवेशनले समेत पार्टीको नेतृत्व र निर्णयलाई थप संस्थागत गरेको सचिवालयले स्पष्ट पारेको छ।

सरकार लोकतन्त्र, नागरिक स्वतन्त्रता र विधिको शासनविरुद्ध अघि बढ्दा नेपाली कांग्रेसले सधैँ आफ्नो स्पष्ट धारणा राख्दै आएको उल्लेख गर्दै सचिवालयले यस्ता विषयबाट ध्यान अन्यत्र मोड्न कांग्रेसविरुद्ध भ्रम सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाएको छ।

सचिवालयका अनुसार नेपाली कांग्रेस लोकतन्त्र, सुशासन, जनसरोकार र विधिको शासनका पक्षमा सरकारका गतिविधिलाई समर्थन गर्न तयार छ। तर नागरिक स्वतन्त्रता, शक्ति पृथकीकरण, प्रेस स्वतन्त्रता र संवैधानिक सर्वोच्चताविरुद्ध हुने गतिविधिको भने सशक्त प्रतिवाद गर्ने पार्टीको नीति रहेको छ।

यसैबीच, सभापति थापाले पार्टी केन्द्रीय कार्यालयमा व्यक्त गर्नुभएको धारणालाई स्मरण गराउँदै सचिवालयले बिचौलियासँग सम्बन्धित विषय तथा त्यसमा जोडिएका सबै प्रकरणको गहिरो, निष्पक्ष र प्रमाणमा आधारित अनुसन्धान हुनुपर्ने जनाएको छ।

दोषी देखिने जोकोहीलाई कानुनी कारबाही गर्नुपर्ने र यसमा सरकारलाई कांग्रेसको पूर्ण साथ तथा समर्थन रहने थापाको भनाइ उद्धृत गर्दै सचिवालयले अनुसन्धान प्रक्रियाको निष्पक्षतामाथि भने गम्भीर प्रश्न उठाएको छ।

नेपाल प्रहरीको छापसहित अनुसन्धानमा संलग्न रहेको तथ्य तथा प्रमाण र कथित बयानहरू छानिछानी सञ्चारमाध्यममा सार्वजनिक भइरहेकाले केही प्रमाण लुकाउने वा नष्ट गर्ने प्रयास भएको हुन सक्ने आशङ्का उत्पन्न भएको सचिवालयको भनाइ छ।

अनुसन्धान प्रक्रियामा संलग्न निकायभित्रकै व्यक्तिहरूको भूमिकासमेत सार्वजनिक भइरहेकाले समग्र अनुसन्धान पारदर्शी र निष्पक्ष हुनुपर्नेमा सभापति थापाले जोड दिनुभएको सचिवालयले जनाएको छ।

कांग्रेस कुनै पनि प्रकारको निष्पक्ष अनुसन्धानबाट पछि नहट्ने स्पष्ट पार्दै सचिवालयले अपुष्ट आरोप, राजनीतिक पूर्वाग्रह र भ्रामक प्रचारका आधारमा पार्टीलाई आरोपित गर्ने प्रवृत्ति स्वीकार्य नहुने बताएको छ। यस विषयमा पार्टीको संसदीय दलले निष्पक्ष छानबिनका लागि निर्णयसमेत गरिसकेको सचिवालयले उल्लेख गरेको छ।

अन्त्यमा सचिवालयले सम्बन्धित सबै पक्षलाई प्रमाण र तथ्यका आधारमा जिम्मेवार ढङ्गले विषय प्रस्तुत गर्न तथा आमनागरिकलाई अपुष्ट सूचनाका आधारमा भ्रममा नपर्न आग्रह गरेको छ।