जनता टाइम्स

१६ कार्तिक २०८३, सोमबार १७:२३

भारतीय विदेश सचिव मिश्री बुधबार नेपाल आउँदै


काठमाडौं, कात्तिक १६ । भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार नेपाल आउनुहुने भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीका सिलसिलामा मिश्री नेपाल आउन लाग्नुभएको हो।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव अमृतकुमार राई र भारतीय विदेश सचिव मिश्रीबीच द्विपक्षीय वार्ता हुनेछ। वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विभिन्न विषयमा विचार आदानप्रदान हुने मन्त्रालयले जनाएको छ।

दुई देशबीच लामो समयदेखि रहँदै आएको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल हुने बताइएको छ।

भ्रमणका क्रममा मिश्रीले नेपालका उच्चस्तरीय पदाधिकारीहरूसँग शिष्टाचार भेटघाटसमेत गर्ने कार्यक्रम रहेको छ।

दुईदिने भ्रमण सम्पन्न गरी उहाँ बिहीबार नयाँदिल्ली फर्किने कार्यक्रम छ।