काठमाडौं, कात्तिक १६ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकारका गतिविधिले संविधान, लोकतन्त्र र राज्यका संवैधानिक अङ्गहरूलाई कमजोर बनाउने काम गरेको आरोप लगाउनुभएको छ।
प्रेस चौतारी नेपाल, रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले सरकारका गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो।
उच्च जिम्मेवार पदमा रहेका व्यक्तिहरू अत्यन्त संयमित र उत्तरदायी हुनुपर्नेमा कार्यकारी भूमिकामा रहेका व्यक्तिहरूको सामाजिक सञ्जाल गतिविधिले राज्यको जिम्मेवारीलाई केटाकेटीले खेल्ने भाँडाकुटी जस्तो बनाएको उहाँको टिप्पणी थियो।
चुनाव प्रचारका क्रममा प्रधानमन्त्रीसँगै रहेका र उहाँलाई जिताउने अभियानमा खटिएका एक चर्चित पात्रको विषयलाई लिएर प्रधानमन्त्री स्वयंले समाजका विभिन्न अङ्गलाई प्रभावित वा नियन्त्रण गर्न परिचालन गर्न खोज्नुभएको हो कि भन्ने आशङ्का उत्पन्न भएको पोखरेलले बताउनुभयो।
उहाँले सरकारका गतिविधिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेत सन्तुष्ट नरहेको दाबी गर्नुभयो।
जनताले ठूलो अपेक्षासहित दिएको जनादेशविपरीत देशको अवस्था नकारात्मक दिशातर्फ गइरहेको भन्दै महासचिव पोखरेलले त्यसलाई सच्याउनु र सुधार गर्नु सबैको साझा कर्तव्य भएको धारणा व्यक्त गर्नुभयो।














प्रतिक्रिया दिनुहोस्