जनता टाइम्स

१६ कार्तिक २०८३, सोमबार १८:४७

जटिल बन्यो डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था, बालेन सरकारले गरेन वार्ताको पहल


काठमाडौं, कात्तिक १६ । चिकित्सा शिक्षा सुधारका लागि निरन्तर लागेका अभियन्ता प्राडा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ । शरीरमा सुगर र अक्सिजनको मात्रा घट्नुका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि केसीलाई थप उपचारका लागि इलामबाट सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइ त्रिबि शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

इलाममा २५औँ आमरण अनशनमा रहनुभएका डाक्टर केसीलाई सोमबार बिहान काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा भर्ना गरिएको हो । अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार केसीको स्वास्थ्य परीक्षण र उपचार सुरु गरिएको छ ।

रोस्याराका अनुसार केसीको शरीरमा सुगरको मात्रा घटेको छ भने श्वासप्रश्वासमा समस्या देखिएको छ । यस्तै पेट दुख्ने र पिसाबमा संक्रमणसमेत देखिएको छ । अनशनको पाँचौं दिनदेखि नै केसीको स्वास्थ्यमा समस्या आएको थियो । श्वासप्रश्वासमा कठिनाइ भएपछि आइतबार रातिदेखि नै उहाँलाई अक्सिजन दिएर उपचार सुरु गरिएको थियो ।

स्वास्थ्य अवस्था थप जोखिमपूर्ण बन्दै गएपछि उपचारमा संलग्न चिकित्सकहरूले सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर्न सिफारिस गरेका थिए । सोहीअनुसार सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो ।

अवस्था जटिल बन्दै गएपछि नेपाल चिकित्सक संघले डा. केसीको जीवनरक्षाका लागि तत्काल पहल गर्न सरकारसँग आग्रह गरेको छ । अनशनका कारण उहाँको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै संघले माग सम्बोधनका लागि अविलम्ब वार्ता गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीले सोमवार संयुक्त विज्ञप्ति जारी गर्दै केसीको स्वास्थ्य अवस्था थप जटिल हुन नदिन आवश्यक उपचार र स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउन माग गर्नुभएको हो । बिज्ञप्तिमा जनाइएअनुसार शरीरमा सुगर र अक्सिजनको मात्रा कम हुनुका साथै स्वास्थ्य परीक्षणमा समेत कठिनाइ देखिएको छ ।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधार, गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसाधारणको सहज पहुँच तथा सुशासनका लागि लामो समयदेखि आवाज उठाउँदै आएका केसीको जीवनरक्षालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने संघको भनाइ छ । डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बनिसक्दा पनि बालेन्द्र शाह नेतृत्वको सरकारले औपचारिक वार्ता सुरुसमेत गरेको छैन ।

हिला डाक्टर केसीको साथ दिँदै आएका ब्यक्ति नै अहिले मन्त्री र सांसद भएपनि वास्ता नगरिएको हो । पछिल्लो पटक केसी ६ महिनामा दुई पटक अनशन बसिसक्नु भएको छ । बालेन सरकारले बेथितीलाई निरन्तरता दिएको मात्र नभएर झनै बढाएको भन्दै केसीले अनसन बस्नुपरेको बताउनु भएको छ ।

यस्ता छन डाक्टर केसीका माग

डाक्टर केसीले सुदुरपश्चिम प्रदेशको गेटामा आवश्यक पूर्वाधारविना एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिइएको अनुमति खारेज गर्नुपर्ने, चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा देखिएको स्वार्थको द्वन्द्वबारे निष्पक्ष छानबिन गर्नुपर्ने, गेटा अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने लगायतका ६ बुँदे माग राख्नुभएको छ ।

यसअघि सरकारसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने माग पनि उहाँको माग छ । यसैगरी चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा देखिएका विकृति अन्त्य तथा गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको पहुँच सुनिश्चित गर्नुपर्ने माग पनि रहेको छ ।