जनता टाइम्स

१६ कार्तिक २०८३, सोमबार १७:३३

जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता


काठमाडौं, कात्तिक १६ । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिनुभएको छ।

उहाँले संसदीय सुनुवाइ समितिलाई निवेदन पठाउँदै प्रस्तावित राजदूतबाट आफ्नो नाम फिर्ता लिएको जानकारी गराउनुभएको हो।

थापामाथि जापानको स्थायी आवासीय अनुमति (पीआर) लिएको आरोप लागेको थियो।

यसअघि संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन गरेको थियो भने दुई जनाको नाम अस्वीकृत गरेको थियो। थापाको हकमा भने समितिले कुनै निर्णय गरेको थिएन।

सोमबार बसेको समितिको बैठकमा सांसदहरूले प्रस्तावित राजदूतले समितिभन्दा पनि सरकारसमक्ष नाम फिर्ताको निवेदन दिनुपर्ने धारणा राखेका थिए। सरकारले सिफारिस गरेको अवस्थामा नाम फिर्ताको निवेदन पनि सरकारमै आउनुपर्ने उनीहरूको जिकिर थियो।

तर, यसअघि पनि समितिमार्फत निवेदन दिएर नाम फिर्ता लिएको नजिर रहेको भन्दै समितिले थापाको निवेदनलाई अनुमोदन गरेको हो।