काठमाडौं, कात्तिक १६ । धनुषा घर भई ललितपुरमा बस्दै आउनुभएका गौरीशंकर पण्डितले ४१५ रुपैयाँको सामान खरिद गर्दा १० लाख रुपैयाँको पुरस्कार जित्नुभएको छ।
आन्तरिक राजस्व विभागले सोमबार करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पण्डितलाई बम्पर पुरस्कार विजेता घोषणा गरेको हो।
उहाँले कात्तिक ५ गते ललितपुरको धापाखेलस्थित बिगमार्टबाट ४१५ रुपैयाँ बराबरको सामान खरिद गरी ई–सेवामार्फत भुक्तानी गर्नुभएको थियो।
अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा कात्तिक १ देखि १५ गतेसम्मको अवधिका लागि १० लाख रुपैयाँको बम्पर पुरस्कार विजेता घोषणा गरिएको हो। उक्त अवधिमा १५ जनालाई जनही १ लाख ३३ हजार ३४ रुपैयाँका दरले पुरस्कार दिने व्यवस्था पनि गरिएको छ।
१० लाख रुपैयाँ जित्ने पण्डितलाई आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले फोन गरेर बधाई दिनुभएको थियो।
सरकारले बिलबिजक लिने र दिने संस्कृतिलाई प्रवर्द्धन गर्दै आर्थिक कारोबारलाई पारदर्शी बनाउने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु गरेको हो।
कार्यक्रममा १०० रुपैयाँभन्दा बढी मूल्यका वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता सहभागी हुन सक्ने व्यवस्था छ।















प्रतिक्रिया दिनुहोस्