काठमाडौं, कात्तिक १७ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्सले दोस्रो जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न रोमाञ्चक खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको हो ।
विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रनमात्र बनाउन सक्यो । अन्तिम बलसम्म प्रतिस्पर्धात्मक बनेको खेलमा विराटनगरका आन्द्रे रसेल नायक बने ।
ब्याटिङमा अर्धशतक प्रहार गरेका रसेलले बलिङमा समेत उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिए । उनले अन्तिम बलमा विकेट झार्दै विराटनगरलाई रोमाञ्चक जित दिलाए ।
जनकपुरका लागि सैफ हसनले सर्वाधिक ७१ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । विशाल सस्लिङले ४३ तथा जिमी निशमले २७ रनको योगदान दिए ।
बलिङतर्फ रसेलले चार विकेट लिँदा एन्जेलो म्याथ्युजले दुई तथा रुपेश सिंहले एक विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७४ रन बनाएको थियो । विराटनगरका तीन खेलाडीले अर्धशतक प्रहार गरेका थिए ।
लोकेश बमले ५०, इमरान शेखले ५६ तथा आन्द्रे रसेलले अविजित ५२ रन बनाए । जनकपुरका अभिषेक तिवारीले दुई तथा मोइन अलीले एक विकेट लिए ।
यस जितसँगै विराटनगर अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । चार खेल खेलेको विराटनगरले दुई जित र दुई हारसहित चार अंक जोडेको छ । समान खेलबाट समान चार अंक रहेको जनकपुर भने रनरेटका आधारमा तेस्रो स्थानमा छ ।














प्रतिक्रिया दिनुहोस्