काठमाडौं, कात्तिक १८ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर मनोज केसीलाई नियुक्त गर्ने सरकारको निर्णयबारे सरकार र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ताको भनाइ बाझिएको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले आईजीपीको जिम्मेवारी हेरफेर गर्नुको एउटा कारण पार्टीको निर्देशन पनि भएको बताउनुभएको थियो। तर, रास्वपाका प्रवक्ता जगदिश खरेलले भने पार्टीले कसैलाई पदबाट हटाउन वा नियुक्त गर्न निर्देशन नदिएको स्पष्ट पार्नुभएको छ।
खरेलका अनुसार शनिबार बसेको पार्टी सचिवालय बैठकले सञ्चारमाध्यममा पुगेर पत्रकार पक्राउ गर्ने घटनाको अनुसन्धान गरी कारबाही गर्न निर्देशन दिएको थियो। तर, आईजीपी परिवर्तन गर्ने विषयमा कुनै निर्देशन नदिएको उहाँको भनाइ छ।
सरकारका प्रवक्ता पोखरेलले मन्त्रिपरिषद् बैठकपछि पत्रकारसँग कुरा गर्दै बदलिँदो परिस्थितिमा संवेदनशील विषयमा सरकारले कदम चाल्नुपर्ने भन्दै पार्टीबाट पनि निर्देशन आएको बताउनुभएको थियो। त्यही निर्देशनका आधारमा कार्कीको जिम्मेवारी फेरबदल गरिएको उहाँको भनाइ थियो।
तर, खरेलले पार्टीले आईजीपी कार्कीलाई हटाउन वा नयाँ नियुक्ति गर्न निर्देशन दिएको भन्ने कुरा अस्वीकार गर्नुभएको छ। सरकारले किन यस्तो निर्णय गर्यो भन्ने विषय सरकारले नै स्पष्ट पार्नुपर्ने उहाँको भनाइ छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्री बालेन शाहको प्रमुख सुरक्षा सल्लाहकारमा नियुक्त गर्दै एआईजी मनोज केसीलाई नयाँ आईजीपी बनाउने निर्णय गरेको थियो।
पछिल्लो समय सञ्चारगृह र पत्रकारमाथि प्रहरीको धरपकड, प्रहरी नेतृत्वबीचको टकराव तथा आईजीपी कार्कीमाथि उठेका विभिन्न आरोपका कारण प्रहरी संगठनको नेतृत्व विवादमा परेको थियो। यसअघि रास्वपा सांसद खगेन्द्र सुनारले पनि संसदीय समितिमा कार्कीमाथि निर्वाचन प्रहरीको पोशाक खरिदमा भ्रष्टाचार गरेको आरोप लगाउनुभएको थियो। उक्त उजुरी अध्ययन गर्न सांसद मनिष झाको नेतृत्वमा समिति गठन गरिएको छ।














प्रतिक्रिया दिनुहोस्