काठमाडौं, कात्तिक १८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनमतको आडमा देशमा सर्वसत्तावाद स्थापित हुने खतरा बढेको बताउनुभएको छ।
बुधबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले आईजीपी हटाउनेदेखि विभिन्न निकायका कर्मचारीलाई प्रधानमन्त्री कार्यालयमा थुन्नेसम्मका घटनाले विधि र कानुनी शासनमाथि प्रश्न उठाएको बताउनुभयो।
विधि, नियम र प्रक्रियाभन्दा पनि लहडका भरमा मुलुक सञ्चालन हुन थाले गम्भीर सर्वसत्तावादको जोखिम बढ्ने उहाँको भनाइ थियो।
लिङ्देनले आगामी समयको नेतृत्वका लागि राप्रपा तयार हुनुपर्ने भन्दै कार्यकर्तालाई निराश नहुन आग्रह गर्नुभयो। देशलाई दुर्घटनाबाट जोगाउन राप्रपा बलियो हुन र चुनाव जित्न आवश्यक रहेको उहाँले बताउनुभयो।
पार्टीलाई व्यक्तिगत तथा सत्ता स्वार्थबाट मुक्त राखेर अघि बढ्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।














प्रतिक्रिया दिनुहोस्