जनता टाइम्स

१९ कार्तिक २०८३, बिहिबार १७:२५

सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री शाहको ब्रिफिङ, चाडपर्वमा सुरक्षा चुस्त बनाउन निर्देशन


काठमाडौं, कात्तिक १९ । प्रधानमन्त्री बालेन्द्र शाहले देशको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी लिनुभएको छ।

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर प्रधानमन्त्री शाहले सुरक्षा अवस्थाबारे ब्रिफिङ लिनुभएको हो।

चाडपर्वका समयमा नागरिकको सुरक्षा, अपराध नियन्त्रण तथा समग्र शान्ति–सुरक्षाको व्यवस्थापनबारे उहाँले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नुभएको जनाइएको छ।

प्रधानमन्त्री शाहले देशको सुरक्षा व्यवस्था थप सुदृढ बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीचको आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ।

त्यसैगरी नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन, अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन तथा शान्ति–सुरक्षाको व्यवस्थालाई चुस्तदुरुस्त बनाउन उहाँले सम्बन्धित निकायका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ।

सरकारले चाडपर्वका बेला हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने तयारी गरेको छ।