जनता टाइम्स

२० कार्तिक २०८३, शुक्रबार १८:१७

रविको निर्देशन : बदला लिने भावनाले काम नगर्नू


काठमाडौं, कात्तिक २०। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्तालाई बदला लिने भावनाले काम नगर्न निर्देशन दिनुभएको छ ।

चितवनमा आयोजित विशेष कार्यक्रममा उहाँले जनताले दिएको मतको दुरुपयोग नगर्न र पार्टी ठूलो भएको भन्दै प्रहरी, प्रशासन तथा राज्यका निकायलाई आफ्नो नियन्त्रणमा रहेको ठान्ने अहंकार त्याग्न आग्रह गर्नुभयो ।

लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताले उच्च राजनीतिक चरित्र प्रदर्शन गर्नुपर्ने बताउँदै अदालत, प्रहरी र प्रेसजस्ता लोकतन्त्रका संस्थामाथि अनावश्यक टिप्पणी नगर्न पनि निर्देशन दिनुभयो ।

उहाँले भ्रष्टाचार नियन्त्रणका नाममा अनुसन्धान नगरी कसैलाई दोषी ठहर गर्ने र पक्राउ गर्ने प्रवृत्ति उचित नहुने उल्लेख गर्दै विधिको शासनअनुसार अनुसन्धान र कारबाही हुनुपर्नेमा जोड दिनुभयो ।

सरकारका कामकारबाहीमा सुधारका लागि पार्टीले सुझाव दिनु स्वाभाविक भएको भन्दै उहाँले त्यसलाई विवादका रूपमा लिन नहुने बताउनुभयो ।