काठमाडौं, कात्तिक १९ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी राजनीतिक तथा कानुनी लडाइँमा कुनै पनि आर्थिक लेनदेन नभएको स्पष्ट पार्नुभएको छ।
बिहीबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले पार्टीको आधिकारिकता प्राप्त गर्ने विषयमा आर्थिक लेनदेन भएको भन्ने आरोप अस्वीकार गर्नुभएको हो।
उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीको आधिकारिकताको राजनीतिक, कानुनी लडाइँमा एक सुकाको पनि लेनदेन छैन।’
प्रहरी हिरासतमा रहेका इनम सापकोटाको नाममा सार्वजनिक भएको अडिओमा पार्टीको आधिकारिकताका विषयमा आफूले बार्गेनिङ गरेको उल्लेख भएपछि थापाले आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो।
सापकोटाले भनेको आधारमा आफूले पटक–पटक जवाफ दिइरहन आवश्यक नभए पनि घटनाबारे केही कुरा स्पष्ट पार्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो। घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्नेमा जोड दिँदै थापाले अनुसन्धानबाट वास्तविकता बाहिर आउने विश्वास व्यक्त गर्नुभयो।
विशेष महाधिवेशनको प्रसङ्ग उठाउँदै उहाँले उक्त महाधिवेशन पार्टीका तल्लो तहका कार्यकर्ताले गरेको विद्रोह भएको बताउनुभयो।
‘विशेष महाधिवेशन पार्टीका भुइँ तहका कार्यकर्ताहरूले गरेको विद्रोह हो। विद्रोह गर्नेले परिणाम के होला भनेर चिन्ता लिन्छ ?’ उहाँले प्रश्न गर्नुभयो।
आफू कुनै कमजोर राजनीतिक धरातलमा नरहेको उल्लेख गर्दै थापाले पार्टीको आधिकारिकतासम्बन्धी संघर्षमा आफ्नो राजनीतिक अडान स्पष्ट रहेको सन्देश दिनुभएको छ।














प्रतिक्रिया दिनुहोस्