जनता टाइम्स

१९ कार्तिक २०८३, बिहिबार १३:१३

बालेन सरकारबिरुद्ध सर्वाेच्च अदालत पुगे बर्खास्तमा परेका आइजीपी दानबहादुर कार्की


काठमाडौं, कात्तिक १९ । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएपछि निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्की न्यायका लागि सर्वोच्च अदालत पुग्नुभएको छ।

सरकारको निर्णयविरुद्ध कार्कीले दिएको रिट लिएर केहीबेरअघि उहाँका कानुन व्यवसायीहरू सर्वोच्च अदालत पुगेका हुन्। आफूलाई आईजीपी पदबाट हटाएर अन्याय गरिएको दाबी गर्दै उहाँले अदालतबाट न्याय माग्नुभएको हो।

सरकारले बुधबार मन्त्रिपरिषद् बैठकमार्फत कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो। साथै, रिक्त आईजीपी पदमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नियुक्त गरिएको थियो।

कार्कीलाई प्रधानमन्त्री कार्यालयमा विशेष सुरक्षा सल्लाहकारको नयाँ पद सिर्जना गरी जिम्मेवारी दिने निर्णय सरकारले गरेको थियो।

सरकारको उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै कार्की न्यायिक उपचारका लागि सर्वोच्च अदालत पुग्नुभएको हो। यद्यपि, उहाँले लिएर गएको रिट सर्वोच्च अदालतमा दर्ता हुने वा नहुने भन्ने विषय प्रशासनिक प्रक्रिया पूरा भएपछि मात्रै टुंगो लाग्नेछ।

सरकारको निर्णयलाई चुनौती दिँदै निवर्तमान आईजीपी नै सर्वोच्च अदालत पुगेपछि प्रहरी नेतृत्व परिवर्तनको विषय थप चर्चामा आएको छ।