जनता टाइम्स

१९ कार्तिक २०८३, बिहिबार ०९:२४

समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै


काठमाडौं, कात्तिक १९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पदाधिकारीहरूको अनौपचारिक बैठक आज बस्दै छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो ३ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र पार्टी संगठनका विषयमा छलफल हुने भएको छ।

सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाएर मनोज कार्कीलाई नियुक्त गरेको विषयलगायत समसामयिक राजनीतिक घटनाक्रममा पार्टीको धारणा तय गर्न बैठक बस्न लागेको हो।

त्यस्तै, इनम सापकोटाको नाममा सार्वजनिक अडियोमा सभापति गगन थापाले पार्टीलाई वैधानिकता दिलाउन १८ करोड रुपैयाँ खर्च गरेको प्रसंगबारे पनि छलफल हुन सक्ने बताइएको छ। कांग्रेसले उक्त प्रकरणलाई सरकारको षड्यन्त्र भन्दै आरोप निराधार, कपोकल्पित र नियोजित भएको दाबी गर्दै आएको छ।

सरकारले प्रतिपक्षको आवाज दबाउन खोजेको भन्दै न्यायपालिकाको स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपविरुद्ध राजनीतिक तथा कानुनी प्रतिवाद गर्ने कांग्रेसको भनाइ छ। पत्रकारमाथिको धरपकडलगायत सरकारका विवादित गतिविधिबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने र प्रतिनिधिसभाको बैठक तत्काल बोलाउनुपर्ने माग पनि कांग्रेसले गर्दै आएको छ।

महामन्त्री डा. डिला संग्रौलाले बैठक औपचारिक नभई अनौपचारिक छलफलका लागि बोलाइएको जानकारी दिनुभयो। उहाँका अनुसार बैठकमा समसामयिक विषयमा कुराकानी हुनेछ।

सहमहामन्त्री मनोजमणि आचार्यका अनुसार पार्टी संगठनका विषयमा पनि छलफल हुनेछ। जिल्ला र प्रदेशमा अधिवेशन हुन बाँकी रहेकाले ती विषयमा महामन्त्री तथा सहमहामन्त्रीहरूबीच छलफल गर्न बैठक बोलाइएको उहाँले बताउनुभयो।