काठमाडौं, कात्तिक १९ । भारतीय विदेश सचिव विक्रम मिश्रीले आज प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग शिष्टाचार भेटवार्ता गर्दै हुनुहुन्छ। भेटपछि उहाँ आजै अपराह्न स्वदेश फर्किने कार्यक्रम छ।
प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारीका लागि बुधबार काठमाडौं आउनुभएका मिश्रीले हिजो अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र परराष्ट्र सचिव अमृतबहादुर राईसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो।
आज प्रधानमन्त्रीसँग हुने भेटलाई नेपाल–भारत सम्बन्ध र प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको तयारीका दृष्टिले महत्त्वका साथ हेरिएको छ।
स्रोतका अनुसार प्रधानमन्त्री शाहको भारत भ्रमण मंसिर दोस्रो साता गर्ने गरी दुवै देशले तयारी गरिरहेका छन्। भ्रमणको औपचारिक मिति भारतीय विदेश सचिवको यो भ्रमणपछि छिट्टै सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ।
यसअघि भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले कात्तिक ११ गते प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निमन्त्रणा दिइसकेको जानकारी दिनुभएको थियो।














प्रतिक्रिया दिनुहोस्