जनता टाइम्स

१८ कार्तिक २०८३, बुधबार २०:२३

अमेरिकी मध्यावधि निर्वाचनमा ट्रम्पको रिपब्लिकनलाई ठूलो धक्का : ओबामाको डेमोक्रेटिक पार्टीको नियन्त्रणमा पुग्यो दुवै सदन


वासिङ्टन, कात्तिक १८ । अमेरिकामा सम्पन्न मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले ठूलो राजनीतिक धक्का बेहोर्नुपरेको छ । पूर्वराष्ट्रपति बाराक ओबामाको पार्टी डेमोक्रेटिकले संसद्का दुवै सदन–प्रतिनिधिसभा र सिनेटमा नियन्त्रण कायम गर्ने सफलता हासिल गरेको छ ।

निर्वाचन परिणामले ट्रम्प प्रशासनप्रति अमेरिकी मतदाताको असन्तुष्टि स्पष्ट पारेको छ । रिपब्लिकन पार्टीले आफ्नो परम्परागत प्रभाव रहेका राज्यहरूमा समेत महत्वपूर्ण सिट गुमाएको छ । डेमोक्रेटिक पार्टीले रिपब्लिकनको बलियो पकड रहेका टेक्सास, कन्सास, साउथ क्यारोलाइना, आयोवा र नर्थ क्यारोलाइनाजस्ता राज्यमा उल्लेखनीय सफलता प्राप्त गरेको छ ।

रोयटर्स र अमेरिकी सञ्चारमाध्यमका प्रारम्भिक निर्वाचन विवरणअनुसार डेमोक्रेटिक पार्टीले सिनेटमा कम्तीमा सात सिट थप्दै बहुमत हासिल गरेको छ । प्रतिनिधिसभामा पनि दुई दर्जनभन्दा बढी सिटमा सफलता प्राप्त गर्दै बहुमत आफ्नो पक्षमा पारेको छ । मतगणना जारी रहेकाले सिटको अन्तिम संख्या भने परिवर्तन हुन सक्छ ।

ट्रम्पको लोकप्रियतामाथि मतदाताको प्रश्न

निर्वाचन परिणामलाई राष्ट्रपति ट्रम्पको नेतृत्व र नीतिप्रतिको जनमत परीक्षणका रूपमा हेरिएको छ । ट्रम्पले आफ्नो कार्यकालमा महँगी नियन्त्रण, रोजगारी वृद्धि र अमेरिकी अर्थतन्त्र सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । तर दैनिक उपभोग्य वस्तुको मूल्य, पेट्रोलियम पदार्थको महँगी र घरायसी खर्च बढेको भन्दै मतदातामा असन्तुष्टि देखिएको थियो ।

विशेषगरी इरानसँगको युद्ध र त्यसले इन्धन तथा अन्य वस्तुको मूल्यमा पारेको प्रभावले रिपब्लिकन पार्टीलाई चुनावी क्षति पुर्याएको विश्लेषण गरिएको छ ।

डेमोक्रेटिक पार्टीको पुनरागमन

पूर्वराष्ट्रपति बाराक ओबामाको पार्टी डेमोक्रेटिकले यस निर्वाचनलाई ट्रम्प प्रशासनका नीतिको विरोधमा जनमत जुटाउने अवसरका रूपमा उपयोग गरेको देखिन्छ । पार्टीले महँगी नियन्त्रण, स्वास्थ्य सेवा, लोकतान्त्रिक संस्थाको संरक्षण र सरकारको जवाफदेहितालाई प्रमुख चुनावी मुद्दा बनाएको थियो ।

युवा मतदाता, स्वतन्त्र मतदाता तथा हिस्पानिक समुदायका मतदाताको समर्थनमा भएको परिवर्तनले पनि डेमोक्रेटिक पार्टीलाई फाइदा पुर्याएको निर्वाचनपछिका सर्वेक्षणले देखाएका छन् ।

रिपब्लिकनको हारका पाँच प्रमुख कारण

१. महँगी र आर्थिक असन्तुष्टि

निर्वाचनमा सबैभन्दा प्रभावशाली मुद्दा जीवनयापनको बढ्दो खर्च बन्यो। खाद्यान्न, इन्धन, आवास र स्वास्थ्य सेवाको महँगीले सर्वसाधारण परिवारलाई आर्थिक दबाबमा पारेको थियो। ट्रम्पले महँगी घटाउने वाचा पूरा गर्न नसकेको भन्दै मतदाताले असन्तुष्टि व्यक्त गरे।

२. इरान युद्धको प्रभाव

इरानसँगको युद्धले अमेरिकी राजनीतिमा नयाँ दबाब सिर्जना ग¥यो। युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य बढ्नुका साथै अमेरिकी अर्थतन्त्रमा थप अनिश्चितता आएको थियो। युद्धप्रति असन्तुष्ट मतदाताले पनि रिपब्लिकन उम्मेदवारलाई समर्थन नगरेको विश्लेषण गरिएको छ।

३. ट्रम्पप्रतिको जनअसन्तुष्टि

मध्यावधि निर्वाचनमा राष्ट्रपतिको कार्यसम्पादनको अप्रत्यक्ष मूल्याङ्कन हुने गर्छ। ट्रम्पले निर्वाचन अभियानमा आफूलाई प्रमुख रूपमा प्रस्तुत गरेका थिए। त्यसैले रिपब्लिकन उम्मेदवारको हारलाई मतदाताले ट्रम्प प्रशासनप्रति दिएको राजनीतिक सन्देशका रूपमा हेरिएको छ।

४. भ्रष्टाचार र सरकारको जवाफदेहिताको मुद्दा

सरकारी कामकारबाही, भ्रष्टाचारसम्बन्धी चिन्ता र राष्ट्रपतिको अधिकारमाथि नियन्त्रण हुनुपर्ने विषय पनि चुनावी बहसको केन्द्रमा रहे। यी मुद्दालाई डेमोक्रेटिक पार्टीले प्रभावकारी रूपमा उठाएको थियो।

५. युवा तथा स्वतन्त्र मतदाताको समर्थन गुम्नु

निर्वाचनपछिको ब्ए ख्यतभच एयिि अनुसार युवा र हिस्पानिक मतदाताको एउटा महत्वपूर्ण हिस्सामा रिपब्लिकन पार्टीको समर्थन कमजोर भएको देखिएको छ। स्वतन्त्र मतदाताको झुकाव पनि डेमोक्रेटिक उम्मेदवारतर्फ गएको थियो।

डेमोक्रेटिक पार्टीको जितका आधार

डेमोक्रेटिक पार्टीले मतदाताको आर्थिक असन्तुष्टिलाई चुनावी अभियानसँग जोड्न सफल भयो। महँगी नियन्त्रण, स्वास्थ्य सेवामा पहुँच, सामाजिक सुरक्षा, लोकतान्त्रिक मूल्य र सरकारको जवाफदेहितालाई प्राथमिकता दिइयो।

त्यसैगरी, रिपब्लिकनको बलियो आधार मानिएका राज्यमा समेत प्रतिस्पर्धात्मक उम्मेदवार उठाउनु र मतदातालाई मतदान केन्द्रसम्म ल्याउन प्रभावकारी अभियान सञ्चालन गर्नु डेमोक्रेटिक पार्टीको सफलताका महत्वपूर्ण पक्ष बने।

ट्रम्प प्रशासनलाई चुनौती

दुवै सदनमा डेमोक्रेटिक पार्टीको नियन्त्रण भएपछि राष्ट्रपति ट्रम्पका लागि बाँकी कार्यकालमा राजनीतिक चुनौती बढ्नेछ ।
प्रतिनिधिसभा र सिनेटमा डेमोक्रेटिक पार्टीको बहुमत भएपछि ट्रम्प प्रशासनका प्रस्तावित कानुन, बजेट तथा सरकारी नीतिमाथि कडा संसदीय निगरानी हुनेछ । राष्ट्रपतिको प्रशासनसम्बन्धी छानबिन र सुनुवाइ पनि बढ्न सक्नेछ।

तर संसदमा बहुमत प्राप्त गर्दैमा डेमोक्रेटिक पार्टीले सबै नीति लागू गर्न सक्ने अवस्था हुँदैन। राष्ट्रपतिसँग कानुन रोक्ने भिटो अधिकार रहेकाले दुई दलबीच राजनीतिक टकराव बढ्न सक्ने सम्भावना छ ।

यद्यपी सारमा भन्दा सन् २०२६ को अमेरिकी मध्यावधि निर्वाचनले अमेरिकी राजनीतिमा महत्वपूर्ण परिवर्तनको संकेत गरेको छ । ट्रम्पको रिपब्लिकन पार्टीले संसद्का दुवै सदनमा नियन्त्रण गुमाउनु र ओबामाको डेमोक्रेटिक पार्टीले पुनः बहुमत हासिल गर्नु सामान्य चुनावी परिणाम मात्र होइन, राष्ट्रपति प्रशासनप्रतिको जनमतको महत्वपूर्ण परीक्षण पनि हो।

यद्यपि डेमोक्रेटिक पार्टीको विजयलाई उसको सम्पूर्ण राजनीतिक एजेन्डाप्रतिको समर्थनका रूपमा मात्र बुझ्न मिल्दैन। मतदाताको असन्तुष्टि, आर्थिक दबाब र सरकारप्रतिको अविश्वासले पनि यो परिणाम निर्माण गरेको देखिन्छ। अब डेमोक्रेटिक पार्टीले प्राप्त जनमतलाई कति प्रभावकारी रूपमा नीतिगत उपलब्धिमा रूपान्तरण गर्न सक्छ भन्ने प्रश्न महत्वपूर्ण बनेको छ ।