काठमाडौं, कात्तिक १८ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको टिप्पणी गर्नुभएको छ।
सरकारले जनताले दिएको मतको सदुपयोग गर्न नसकेको आरोप लगाउँदै उहाँले मुलुकका महत्वपूर्ण प्राथमिकता छाडेर अनावश्यक विवादमा अल्झिएको बताउनुभयो।
बुधबार काठमाडौंमा धारणा सार्वजनिक गर्दै शर्माले विशेष महाधिवेशन र १५औँ महाधिवेशनबारे नियोजित रूपमा भ्रम फैलाइएको भन्दै आपत्ति जनाउनुभयो। निर्वाचन आयोगले अद्यावधिक गरिसकेको र सर्वोच्च अदालतले समेत फैसला गरिसकेको विषयमा सरकारी सञ्चारमाध्यमबाट भ्रम फैलाउनु आपत्तिजनक भएको उहाँको भनाइ थियो।
शर्माले आगामी कोप–३१ सम्मेलन, भोटेकोशी विपद् र प्रभावित नागरिकको पुनर्स्थापनामा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। हजारौँ नागरिक प्रभावित भएको र पुनर्स्थापनामा अर्बौं रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेकाले यी विषय राष्ट्रिय बहसको प्राथमिकतामा हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो।
कांग्रेसले विधेयक पारित गर्नेदेखि विपद्का समयमा समेत सरकारलाई सहयोग गर्दै आएको भए पनि सरकार आईजीपी हटाउने विषयमा केन्द्रित भएको उहाँको आरोप थियो।
प्रधानमन्त्रीका सल्लाहकारको नियन्त्रणमा एक बिचौलियाको मोबाइल कसरी पुग्यो भन्ने प्रश्न उठाउँदै शर्माले अनुसन्धान प्रक्रियामाथि समेत प्रश्न गर्नुभयो। प्रधानमन्त्री कार्यालयमा कर्मचारीलाई विभिन्न बहानामा थुनिएको विषयमा उहाँले प्रश्न गर्नुभयो, ‘प्रधानमन्त्री कार्यालय श्रम शिविर हो?’
वर्तमान सरकारले पाँच वर्षको कार्यकाल पूरा गरोस् भन्ने आफ्नो चाहना रहेको पनि शर्माले बताउनुभयो।
यसैबीच, कांग्रेसले आफूहरूमाथि लगाइएका आरोप, तथाकथित अडियो र त्यससँग जोडिएका प्रचारलाई निराधार, कपोकल्पित र नियोजित भनेको छ। पार्टीले आफूहरूमाथि उठेका प्रश्नको सामना गर्न र निष्पक्ष छानबिनका लागि तयार रहेको जनाएको छ।














प्रतिक्रिया दिनुहोस्