जनता टाइम्स

१९ कार्तिक २०८३, बिहिबार २०:५९

गोकर्णेश्वरमा प्रहरीको गोली प्रहारबाट डलर ठगीका आरोपित पक्राउ


काठमाडौं, कात्तिक १९ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ दाम्पामा प्रहरीले गोली चलाएर डलर देखाई ठगी गरेको आरोप लागेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

बिहीबार साँझ प्रहरीले गोली चलाएर सुजन तामाङलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेका अनुसार खोजतलासका क्रममा प्रहरीले पक्राउ गर्न खोज्दा तामाङ भाग्न खोजेका थिए । त्यसक्रममा प्रहरीले सुरुमा एक राउन्ड हवाई फायर गरेको थियो ।

हवाई फायरपछि पनि नियन्त्रणमा नआएपछि प्रहरीले तामाङको खुट्टामा गोली प्रहार गरी पक्राउ गरेको एसएसपी घिमिरेले जानकारी दिनुभयो ।

तामाङले डलर देखाएर ठगी गर्ने गरेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनासम्बन्धी थप विवरण आउन बाँकी छ ।