जनता टाइम्स

१९ कार्तिक २०८३, बिहिबार २०:५३

सभापति थापाबारे सरकारले अफवाह फैलायो, धम्कीले कांग्रेस तर्सिंदैन : महामन्त्री पौडेल


काठमाडौं, कात्तिक १९ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारका गल्ती र कमजोरी ढाकछोप गर्न पार्टी सभापति गगनकुमार थापाबारे अफवाह फैलाइएको आरोप लगाउनुभएको छ । उहाँले सरकारको धम्की र दबाबबाट कांग्रेस नतर्सिने स्पष्ट पार्नुभएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री पौडेलले सभापति थापालाई जोडेर भइरहेको प्रचार सरकारको ध्यान अन्यत्र मोड्ने प्रयास भएको बताउनुभयो ।

उहाँले बिचौलिया भनिएका इनम सापकोटा र सभापति थापाबीच कुनै प्रकारको चिनजान वा आर्थिक लेनदेन नभएको दाबी गर्नुभयो । बरु सापकोटा स्वयं प्रधानमन्त्रीको चुनावी प्रचारप्रसारमा सहभागी भएको देखिएको उहाँको भनाइ छ ।

सरकारले कांग्रेस र सभापति थापामाथि लगाएका आरोप पुष्टि गर्न चुनौती दिँदै पौडेलले कानुन र मर्यादाभित्र रहेर काम गर्न सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले निष्पक्ष अनुसन्धानका लागि कांग्रेस सरकारलाई सहयोग गर्न तयार रहेको बताउँदै जबर्जस्ती धरपकड गर्न खोजिए प्रतिवाद गर्ने चेतावनीसमेत दिनुभयो ।

‘हाम्रो सभापतिका बारेमा अहिले जुन ढङ्गले चर्चा परिचर्चा भइरहेको छ, त्यो विषयान्तर गर्न फैलाइएको अफवाह हो । यसले हामीलाई कुनै असर गर्दैन । हामी कुनै पनि हिसाबले तर्सिंदैनौँ,’ पौडेलले भन्नुभयो ।

सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच पछिल्लो समय बढ्दै गएको आरोप–प्रत्यारोपका बीच महामन्त्री पौडेलको यो अभिव्यक्ति आएको हो ।