जनता टाइम्स

१८ कार्तिक २०८३, बुधबार २०:१९

कांग्रेस पार्टी र नेतृत्वमाथि उठेका सबै प्रश्नको सामना गर्न तयार छौँ : विश्वप्रकाश शर्मा


काठमाडौं, कात्तिक १८ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टी र पार्टी नेतृत्वमाथि उठेका प्रश्न तथा आरोपको सामना गर्न कांग्रेस तयार रहेको बताउनुभएको छ । 

उहाँले कांग्रेस र साे पार्टीका नेताहरूविरुद्ध षड्यन्त्र सुरु भएको उल्लेख गर्दै त्यस्ता प्रयासलाई चिर्न पार्टी सक्षम रहेको स्पष्ट पार्नुभयाे । आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको शीर्ष नेताहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ उपसभापति शर्माले कांग्रेसमाथि उठाइएका प्रश्नबाट पार्टी पछि नहट्ने बताउनुभयो ।

‘कांग्रेसमाथि उठ्ने, नेतृत्वको बारेमा उठ्ने र उठाइने प्रत्येक प्रश्नलाई सामना गर्न तथा जस्तोसुकै छानबिन गर्नका लागि पार्टी तयार छ । जस्तोसुकै षड्यन्त्र चिर्नका लागि पनि तयार छ,’ उहाँले भन्नुभयो ।

शर्माले पछिल्लो समय सार्वजनिक भएका विभिन्न घटनाक्रमको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय अनुसन्धान हुनुपर्ने मागसमेत गर्नुभयाे । कुनै पनि घटनालाई राजनीतिक आग्रह वा पूर्वाग्रहका आधारमा नभई विधि र कानुनअनुसार छानबिन गरिनुपर्ने उहाँको भनाइ थियो । ‘जे जति प्रसङ्ग उठेका छन्, यी सबै घटनाको स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय अनुसन्धान गरियोस्,’ उहाँले भन्नुभयो ।

वरिष्ठ उपसभापति शर्माले प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको इनम सापकोटाको मोबाइल प्रकरणप्रति पनि गम्भीर प्रश्न उठाउनुभयाे । प्रहरीले नियन्त्रणमा लिइसकेको भनिएको बिचौलिया सापकोटाको मोबाइल फरेन्सिक परीक्षणका लागि पठाउनुअघि प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको घरमा दुई दिनसम्म राखिएको विषय सार्वजनिक भएको उल्लेख गर्दै उहाँले अनुसन्धान प्रक्रियाको वैधानिकतामाथि प्रश्न उठाउनुभयो ।

‘एकजना बिचौलियाको मोबाइल प्रहरीले कब्जा गरिसकेपछि प्रधानमन्त्रीका सल्लाहकारको घरमा पुगेको भनेर तपाईंहरूले समाचार लेख्नुभएको छ । किन पुग्यो ? यो अवधिमा त्यहाँ के भयो ? त्यहाँ कुन त्यस्तो तथ्य मेटाउनु थियो ? यो कुन विधि, कुन पद्धति र कुन मर्यादाबमोजिमको अनुसन्धान प्रक्रिया हो ?’ उहाँले प्रश्न गर्नुभयो ।

शर्माले अनुसन्धानको दायरामा रहेको प्रमाणलाई सम्बन्धित सरकारी निकायको नियन्त्रणबाहिर राखिएको विषय सामान्य रूपमा लिन नसकिने बताउँदै यसबारे सत्यतथ्य सार्वजनिक हुनुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै, सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का प्रकरणमा सम्बन्धित कर्मचारीलाई हटाइएको विषयप्रति पनि उहाँले आपत्ति जनाउनुभएको छ । सरकारी निर्णय तथा प्रशासनिक प्रक्रियामा राजनीतिक प्रभाव र हस्तक्षेप हुन नहुने उल्लेख गर्दै उहाँले प्रधानमन्त्री कार्यालयको भूमिकामाथि प्रश्न उठाउनुभयो । ‘प्रधानमन्त्री कार्यालयलाई श्रम शिविर बनाएको हो ? देशको प्रधानमन्त्री कार्यालय श्रम शिविर हो ?’ उहाँले प्रश्न गर्नुभयो ।

यसैगरी, सरकारको नियन्त्रणमा रहेका भनिएका इनम सापकोटामार्फत सरकारअनुकूलको रेकर्ड गराएर बाहिर ल्याइएको शर्माको आरोप छ । उक्त रेकर्डिङको विषयमा समेत निष्पक्ष छानबिन हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

शर्माले पछिल्ला घटनाक्रमलाई अलग-अलग रूपमा मात्र नभई समग्र रूपमा हेरेर अनुसन्धान गर्नुपर्ने बताउँदै राज्यका निकायको विश्वसनीयता कायम राख्न निष्पक्षता र कानुनी प्रक्रियाको पालना अनिवार्य रहेको धारणा व्यक्त गर्नुभयाे।