जनता टाइम्स

१८ कार्तिक २०८३, बुधबार १९:००

नवनियुक्त आईजीपीलाई गृहमन्त्रीको निर्देशन : ‘प्रहरी र नागरिकबीच दूरी देखिनुभएन’


काठमाडौं, कात्तिक १८ । गृहमन्त्री सुधन गुरुङले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीलाई प्रहरी र नागरिकबीचको दूरी हटाउँदै नागरिकमैत्री सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ।

नवनियुक्त आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान गर्दै गृहमन्त्री गुरुङले प्रहरी संगठनलाई जनतासँग नजिक बनाउन विशेष ध्यान दिन आग्रह गर्नुभयो।

‘प्रहरी र नागरिकबीच दूरी छ। त्यो दूरी आगामी दिनमा नदेखियोस्,’ उहाँले भन्नुभयो।

गृहमन्त्री गुरुङले प्रहरी संगठनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार तयार रहेको बताउँदै फिल्डमा खटिने प्रहरी जवानहरूको मनोबल उच्च राख्न पनि निर्देशन दिनुभयो।

त्यस अवसरमा आईजीपी केसीले जनतासँगको सम्बन्ध नै प्रहरीको प्रमुख सम्पत्ति भएको बताउनुभयो। उहाँले प्रहरीलाई आवश्यक स्रोतसाधन र कानुनी स्पष्टता उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभयो।

नेपाल प्रहरी जनताका लागि भएको उल्लेख गर्दै केसीले नागरिकको सुरक्षा, सम्मान र संगठनको हितमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सूचना र सचेतना नै प्रहरी सेवाका महत्वपूर्ण आधार भएको उहाँको भनाइ थियो।