काठमाडौं, कात्तिक १८ । जेनजी अभियन्ता रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति प्रश्न उठाउँदै आफूलाई राज्य, संविधान, विधि र व्यवस्थाभन्दा माथि ठान्ने प्रवृत्तिले देश सञ्चालन हुन नसक्ने टिप्पणी गर्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बमले प्रधानमन्त्री शाहलाई विगतका शासकहरूको अहंकार र स्वेच्छाचारिताबाट पाठ सिक्न आग्रह गर्नुभएको छ । उहाँले प्रधानमन्त्रीको कार्यशैलीमा अहंकार र स्वेच्छाचारिता कायम रहे जनताले समेत साथ छाड्ने चेतावनी दिनुभएको छ । ‘म नै राज्य हुँ भन्ने मानसिकताले देश चल्दैन, प्रधानमन्त्रीज्यू ! विगतका प्रधानमन्त्रीहरूको यही अहंकार र आफूलाई संविधान, विधि र व्यवस्थाभन्दा माथि ठान्ने प्रवृत्तिले देशलाई कहाँ पुर्यायो भन्ने इतिहास बिर्सनुभयो ?’ बमले प्रश्न गर्नुभएको छ ।
उहाँले प्रधानमन्त्री शाहलाई आफ्नै पार्टीभित्रसमेत पर्याप्त साथ नरहेको दाबी गर्दै वर्तमान कार्यशैली नसुधारे जनताको समर्थनसमेत गुम्न सक्ने टिप्पणी गर्नुभएको छ । ‘आज तपाईंसँग तपाईंकै पार्टी पनि उभिएको छैन । यही अहंकार र स्वेच्छाचारिता कायम रहिरह्यो भने एक दिन जनताले पनि तपाईंको साथ छोड्नेछन्,’ उहाँले लेख्नुभएको छ ।
बमले पछिल्लो समय चर्चामा रहेको बिचौलिया भनिएका इनम सापकोटाको मोबाइल नियन्त्रण र त्यससँग जोडिएको घटनालाई समेत आफ्नो अभिव्यक्तिमा समेट्नुभएको छ । प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई लक्षित गर्दै उहाँले आफूखुसी दुई दिनसम्म मोबाइल नियन्त्रणमा राखेर प्रमाण मेटाइएको सूचना बाहिरिएपछि सरकार पक्ष आत्तिएको टिप्पणी गर्नुभएको छ ।
‘हिजो तपाईंका चाणक्यले आफूखुसी दुई दिनसम्म बिचौलिया भनिएका इनमको फोन कब्जामा लिएर प्रमाणहरू मेटाएको सूचना बाहिरिएपछि तपाईंहरू आत्तिनुभएको कुरा जनजनले बुझेका छन्,’ बमले फेसबुकमा लेख्नुभएको छ ।
उहाँले प्रधानमन्त्रीलाई इतिहासले अहंकारमा रहेका ठूला व्यक्तिहरूलाई समेत समयक्रममा पाठ सिकाएको स्मरण गराउँदै वर्तमान नेतृत्व पनि त्यसबाट अछुतो नरहने टिप्पणी गर्नुभएको छ ।
‘मलाई साँच्चै तपाईंप्रति दया लाग्छ । इतिहासले तपाईंभन्दा ठूला अहंकारहरूलाई पनि झुकाएको छ । तपाईंको अहंकार पनि त्यसको अपवाद हुने छैन,’ उहाँले लेख्नुभएको छ ।
प्रधानमन्त्रीको कार्यशैली, राज्य संयन्त्रको प्रयोग र इनम सापकोटाको मोबाइल प्रकरणलाई लिएर राजनीतिक वृत्तमा बहस भइरहेका बेला जेनजी अभियन्ता बमको यो अभिव्यक्ति सार्वजनिक भएको हो । उहाँले आफ्नो धारणामार्फत सरकारलाई संविधान, विधिको शासन र जनताको विश्वासलाई सर्वोपरि राखेर अघि बढ्न आग्रह गर्नुभएको छ ।














प्रतिक्रिया दिनुहोस्