काठमाडौं, कात्तिक १९ । भोटेकोशी बाढीबाट विस्थापित रसुवाको टिमुरेका बासिन्दाले सरकारबाट पुनर्स्थापनाको ठोस योजना नआएपछि तिहारपछि आफ्नै थातथलो फर्कने तयारी गरेका छन्।
दुई महिनादेखि काठमाडौंको स्वयम्भुस्थित मुस्ताङ गुम्बाको होल्डिङ सेन्टरमा बस्दै आएका उनीहरूले सधैँ काठमाडौंमा बसेर जीवन चलाउन नसकिने भन्दै गाउँ फर्कने वातावरण बनाउन सरकारसँग माग गरेका छन्।
गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेका कामी नुर्बु तामाङले स्थायी व्यवस्थापनबारे सरकारले कुनै जानकारी नदिएको गुनासो गर्नुभयो। उहाँले गाउँ फर्किएर परम्परा र संस्कृति जोगाउन तथा रसुवागढी नाका पुनः सञ्चालनमा ल्याउन आफूहरू तयार रहेको बताउनुभयो।
पीडितहरूले गाउँमा अस्थायी टहरा, खाद्यान्न र सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन्। बालबालिकाको स्वास्थ्य र शिक्षामा विशेष ध्यान दिनुपर्ने उनीहरूको माग छ।
अर्की पीडित पासाङ तामाङले टिमुरेवासीलाई गाउँ फर्किएर बस्न सक्ने व्यवस्था मिलाउन र तत्कालका लागि सबैलाई एकै ठाउँमा राख्ने प्रबन्ध गर्न सरकारसँग आग्रह गर्नुभयो।
सरकारले अस्थायी बसोबासका लागि मासिक १५ हजार रुपैयाँ दिने निर्णय गरे पनि काठमाडौंमा घरभाडा, खाद्यान्न र बालबालिकाको शिक्षासमेत धान्न उक्त रकम पर्याप्त नभएको पीडितहरूको गुनासो छ।
पीडितहरूले आर्थिक सहयोगभन्दा पनि सुरक्षित रूपमा आफ्नै गाउँ फर्कने वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन्।














प्रतिक्रिया दिनुहोस्