काठमाडौं, कात्तिक १९ । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै आजदेखि सुनका असर्फी र चाँदीका मेडालियन सिक्का बिक्री सुरु गरेको छ।
बबरमहलस्थित टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सिक्का खरिद गर्न सकिनेछ। राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालका अनुसार आज र भोलि दुई दिन सिक्का बिक्री गरिनेछ।
एक व्यक्तिले २.५ ग्राम तौलको एउटा सुनको असर्फी र १० ग्राम तौलका बढीमा तीनवटासम्म चाँदीका सिक्का खरिद गर्न पाउनेछन्।
सुन तथा चाँदीको सिक्काको मूल्य बिक्री हुने दिनको बजार मूल्यका आधारमा निर्धारण हुनेछ। सिक्का उत्पादन खर्चसमेत जोडिने भएकाले बजार मूल्यभन्दा केही महँगो पर्ने राष्ट्र बैंकले जनाएको छ।
सिक्का खरिद गर्न चाहनेले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर खुलेको अन्य परिचयपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ। भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिने व्यवस्था गरिएको छ।














प्रतिक्रिया दिनुहोस्