जनता टाइम्स

१९ कार्तिक २०८३, बिहिबार ०९:३६

पत्रकारको गैरकानुनी गिरफ्तारी दानबहादुर कार्कीको पतनको सटिक दृष्टान्त बन्यो : एमाले नेता सूर्य थापा


काठमाडौं, कात्तिक १९ । नेकपा एमालेका नेता सूर्य थापाले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीमाथि विभिन्न गम्भीर आरोप लगाउँदै उहाँको कार्यशैली र भूमिकाको कडा आलोचना गर्नुभएको छ ।

नेता थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत लामो धारणा सार्वजनिक गर्दै कार्कीमाथि प्रहरी संगठनको दुरुपयोग गरेको, पत्रकारमाथि गैरकानुनी गिरफ्तारी गराएको तथा सार्वजनिक जवाफदेहिताबाट पन्छिन खोजेको आरोप लगाउनुभएको हो ।

उहाँले २०८२ भदौ २४ गतेको घटनादेखि प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछिका विभिन्न विवादलाई उल्लेख गर्दै कार्कीको कार्यशैलीमाथि प्रश्न उठाउनुभएको छ ।

थापाले पत्रकारलाई पक्राउ गर्न प्रहरी न्युजरूममै पुगेको प्रसंग उल्लेख गर्दै त्यसलाई कार्कीको कार्यकालको गम्भीर विवादका रूपमा चित्रण गर्नुभएको छ । उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘पत्रकारको गैरकानुनी गिरफ्तारी उनको पतनको सटिक दृष्टान्त बन्यो।’

त्यस्तै, उक्त घटनापछि त्यसको ढाकछोप गर्ने र अरूमाथि दोष थोपरेर उम्किने प्रयास भएको आरोप पनि उहाँले लगाउनुभएको छ ।

नेता थापाले कार्कीमाथि रवि लामिछानेलाई नख्खु कारागारबाट निकाल्ने घटनामा सहयोग गरेको आरोप लागेको उल्लेख गर्दै कार्की आयोगले समेत उहाँलाई दोषी देखाएको दाबी गर्नुभएको छ ।  

निर्वाचन प्रहरीको पोसाक खरिदसँग सम्बन्धित करिब ६० करोड रुपैयाँको अनियमितता प्रकरणमा समेत कार्की विवादमा परेको थापाको भनाइ छ । उक्त विषयमा विधिसम्मत छानबिन र जिम्मेवारीबोध हुन नसकेको उहाँको भनाइ छ । कार्कीको कार्यशैलीबारे टिप्पणी गर्दै थापाले भन्नुभएको छ, ‘उनले सधैँ पदसँग सम्बन्ध राख्न मात्रै ध्यान दिए, मान्छेसँग होइन।’

उहाँले प्रहरी प्रमुखको जिम्मेवारीमा रहँदा संविधान, कानुन र सार्वजनिक जवाफदेहितालाई प्राथमिकता नदिएको आरोपसमेत लगाउनुभएको छ । कानुनबमोजिम पक्राउ गर्न नपर्ने व्यक्तिलाई पक्राउ गरेर दुःख दिएको र पक्राउ परेका व्यक्तिमाथि न्यूनतम मानवीय मर्यादासमेत कायम गर्न नसकेको उहाँको दाबी छ ।

कार्कीलाई आईजीपी पदबाट हटाइएको विषयमा भइरहेको बहसलाई अनावश्यक भन्दै थापाले उहाँको कार्यकालका विवाद र निर्णयहरूको समीक्षा हुनुपर्ने धारणा राख्नुभएको छ ।

यसैगरी, प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको सरकारको कार्यशैलीमाथि पनि थापाले प्रश्न उठाउनुभएको छ । प्रधानमन्त्री कार्यालयलाई ‘केरकार कार्यालय’ मा परिणत गरिएको टिप्पणी गर्दै उहाँले सरकारका गतिविधि र शासकीय अभ्यासबारे सार्वजनिक रूपमा हिसाबकिताब हुनुपर्ने बताउनुभएको छ ।

थापाले कार्कीलाई सरकारले नयाँ जिम्मेवारीमा पठाएको प्रसंग उल्लेख गर्दै उहाँले अब सरकारलाई सहयोग गर्ने भूमिका निर्वाह गर्न सक्ने टिप्पणीसमेत गर्नुभएको छ ।

सर्वोच्च अदालतमा कानुनी उपचार खोज्ने अवस्था आए कार्कीका लागि त्यो कानुनी परीक्षाको विषय बन्ने थापाको भनाइ छ । उहाँले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरूको सुनुवाइ तथा न्याय सम्पादनको अवस्थामाथि समेत प्रश्न उठाउनुभएको छ ।

थापाले सरकार र त्यससँग सम्बन्धित समूहको कार्यशैलीको सार्वजनिक समीक्षा हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले शासकीय दुरुपयोग, मनपरी र स्वेच्छाचारिताका विषय समाजसामु आउनुपर्ने धारणा राख्दै व्यंग्यात्मक शैलीमा लेख्नुभएको छ, ‘अझ अघि बढ केटा हो !’