काठमाडौं, कात्तिक १९ । नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले इनम सापकोटाको मोबाइल प्रकरणमा सत्ताको चरम दुरुपयोग भएको आरोप लगाउनुभएको छ।
बिहीबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले प्रहरी अनुसन्धानमा रहेको व्यक्तिको मोबाइल दुई दिनसम्म प्रधानमन्त्रीका सल्लाहकारको निजी निवासमा राखिनु गम्भीर विषय भएको बताउनुभयो।
उहाँले अनुसन्धानका क्रममा रहेको मोबाइल प्रधानमन्त्रीका सल्लाहकारको निवासमा पुग्नु, त्यसमा रहेका सन्देश (म्यासेज) डिलिट हुनु र मोबाइल स्क्यान गरिनुले प्रमाण नष्ट गरिएको हुन सक्ने आशङ्का उत्पन्न गरेको उल्लेख गर्नुभयो।
सुशासनको नारा दिएर बनेको सरकारले यस प्रकरणमा कानुनी र नैतिक दुवै दृष्टिले जवाफ दिनुपर्ने उहाँको भनाइ थियो। घटनामा संलग्न सबै व्यक्तिमाथि निष्पक्ष छानबिन हुनुपर्ने मागसमेत उहाँले गर्नुभयो।
वर्तमान सरकार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा रहेकाले सरकारका कामकारबाहीको राजनीतिक जवाफदेहिता पनि रास्वपाले नै लिनुपर्ने अर्यालले बताउनुभयो।
प्रहरी अनुसन्धानमा रहेको मोबाइल प्रधानमन्त्रीका सल्लाहकारको निजी निवाससम्म कसरी पुग्यो र त्यसमा भएका सन्देश किन हटाइए भन्ने विषयमा निष्पक्ष छानबिन हुनुपर्ने उहाँको जोड थियो।














प्रतिक्रिया दिनुहोस्