जनता टाइम्स

१६ कार्तिक २०८३, सोमबार १३:४८

२८औँ भूजी लिग रनिङशिल्डको उपाधि मिलनचोक युवा क्लबलाई, आयोजक एफसीबी १–० ले पराजित


रामेछाप, कात्तिक १६ । उमाकुण्ड गाउँपालिका–७, भूजीस्थित अमृत घामछायाँ खेल मैदानमा सम्पन्न २८औँ भूजी लिग रनिङशिल्ड फुटबल प्रतियोगिताको उपाधि मिलनचोक युवा क्लब (एमवाइसी) प्रीतिले जितेको छ।

फाइनल खेलमा आयोजक फुटबल क्लब भूजी (एफसीबी) लाई १–० गोल अन्तरले पराजित गर्दै एमवाइसीले उपाधि आफ्नो पोल्टामा पारेको हो।

प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको फाइनल खेलमा मिलनचोक युवा क्लबका अनिल पाचे मगरले निर्णायक गोल गरे। खेलको पहिलो हाफको ३८औँ मिनेटमा अनिलले उत्कृष्ट गोल गर्दै एमवाइसीलाई अग्रता दिलाएका थिए। त्यसपछि गोल फर्काउन आयोजक एफसीबीले निरन्तर प्रयास गरे पनि सफल हुन सकेन। अन्ततः अनिलको निर्णायक गोल नै खेलको नतिजा बनेपछि एमवाइसीले च्याम्पियन बन्ने गौरव हासिल गर्‍यो।

उपाधिसँगै विजेता मिलनचोक युवा क्लबले नगद १ लाख ४८ हजार ८२८ रुपैयाँ, एक किलो चाँदी र एक तोला सुनको जलप लगाइएको आकर्षक रनिङशिल्ड तथा मेडल प्राप्त गरेको छ। उपविजेता आयोजक फुटबल क्लब भूजीले नगद ७४ हजार ८२८ रुपैयाँसहित ट्रफी र मेडलमा चित्त बुझाएको छ।

प्रतियोगिताको व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी मिलनचोक युवा क्लबका ज्ञानबहादुर पुलामी घोषित भए। त्यस्तै, सर्वाधिक गोलकर्ताको उपाधि एमवाइसीकै अनिल पाचे मगरले हात पार्दा उत्कृष्ट डिफेन्डर एफसीबीका रोशन देउबञ्जर र उत्कृष्ट गोलरक्षक एमवाइसीका खोमबहादुर श्रेष्ठ घोषित भए। उनीहरूलाई ट्रफी प्रदान गरिएको थियो।

फुटबल क्लब भूजी (एफसीबी) को आयोजना तथा उमाकुण्ड गाउँपालिकाको मुख्य प्रायोजनमा कात्तिक १० गतेदेखि सञ्चालन भएको प्रतियोगितामा कुल १५ टोलीले सहभागिता जनाएका थिए।

विजेता तथा उपविजेता टोलीका खेलाडीलाई गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारलगायतले पुरस्कार वितरण गर्नुभएकाे थिए।

प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै आयोजक फुटबल क्लब भूजीका अध्यक्ष शुभराज सुनुवारले गाउँपालिकाको सहयोगले प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न सम्भव भएको बताउनुभयाे । 

त्यसैगरी, क्लबकी कोषाध्यक्ष मेनुका सुनुवारले विगत १० वर्षदेखि गाउँपालिकाले प्रतियोगितालाई निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयाे ।