काठमाडौं, कात्तिक १६ । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै भावी रणनीति तय गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
कांग्रेसले सोमबार बिहान साढे ८ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाएको पार्टीका एक सांसदले जानकारी दिनुभएको छ ।
दलकी प्रमुख सचेतक बासना थापाका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय, पत्रकारमाथि राज्यको बढ्दो ज्यादती, कर्मचारीमाथि सिर्जना गरिएको त्रासदी तथा संसदीय दल र पार्टीबीचको सम्बन्धलगायत विषयमा छलफल हुनेछ ।
त्यस्तै, सर्वोच्च अदालतका न्यायाधीशहरूलाई विवादमा तान्ने गरी सार्वजनिक भएको इनम सापकोटा प्रकरणबारे पनि बैठकमा छलफल हुने उहाँले बताउनुभएको छ ।
संसदीय दलको बैठकपछि कांग्रेसले संसद्मा रहेका विपक्षी दलहरूसँग छुट्टै बैठक गर्ने तयारी गरेको छ । संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारका पछिल्ला स्वेच्छाचारी निर्णयबारे विपक्षी दलसँग छलफल गरी साझा धारणा सार्वजनिक गर्ने बताउनुभएको छ ।
आइतबार मात्रै कांग्रेस सभापति गगनकुमार थापाले सरकारको स्वेच्छाचारी प्रवृत्तिविरुद्ध कांग्रेस मौन नबस्ने चेतावनी दिनुभएको थियो ।














प्रतिक्रिया दिनुहोस्