काठमाडौं, कात्तिक १६ । अमेरिकाको फ्लोरिडामा आइतबार व्यावसायिक जेट विमान बस्ती क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार नौ जनाकै मृत्यु भएको छ ।
बीबीसीका अनुसार ‘लेयरजेट ६०’ विमान फ्लोरिडाको क्रेस्टहेभन बस्ती नजिक खसेको हो । अमेरिकी यातायात सचिव सिन डफीले दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको पुष्टि गर्नुभएको छ ।
स्थानीय समयअनुसार दिउँसो करिब १२ः५० बजे भएको दुर्घटनास्थल राष्ट्रपति डोनाल्ड ट्रम्पको मार–ए–लागो रिसोर्टबाट करिब १४ किलोमिटर टाढा रहेको छ ।
अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)का अनुसार विमान टेक्सासको अस्टिनबाट उडेर बहामासतर्फ जाँदै थियो ।
दुर्घटनापछि सार्वजनिक भएका तस्बिरमा आवासीय सडकमा ठूलो खाल्डो परेको तथा विमानका टुक्रा, कंक्रिट र अन्य भग्नावशेष छरिएको देखिन्छ । दुर्घटनास्थलमा आगलागीसमेत भएको थियो ।
अमेरिकी सञ्चारमाध्यमका रिपोर्ट तथा उडानसम्बन्धी विश्लेषणअनुसार विमान दुर्घटनाअघि तीव्र गतिमा तल झरिरहेको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएको अपुष्ट भिडियोमा आवासीय सडकमा गाडीहरू गुडिरहेका बेला विमान लगभग ठाडो रूपमा जमिनतर्फ खस्दै ठूलो आगोको मुस्लोसहित विस्फोट भएको देखिन्छ ।
फ्लोरिडाका गभर्नर रन डिसान्टिसले घटनास्थलमा आयोजित पत्रकार सम्मेलनमा भिडियो हेर्दा दुर्घटना निकै भयावह देखिएको बताउनुभएको छ । उहाँले विमान मिसाइल खसेजस्तै जमिनमा आएको र ठूलो विस्फोटसँगै भग्नावशेष चारैतिर छरिएको उल्लेख गर्नुभयो ।
दुर्घटनाका बेला विमानमा को–को सवार थिए भन्ने विवरण भने सार्वजनिक भइसकेको छैन । गभर्नर डिसान्टिसका अनुसार जमिनमा रहेका व्यक्तिको मृत्यु वा घाइते भएको सूचना हालसम्म प्राप्त भएको छैन ।
यातायात सचिव डफीले घटनालाई भयावह दुर्घटनाको संज्ञा दिँदै राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी)को अनुसन्धानमा सहयोग गर्न एफएएले टोली घटनास्थलमा पठाउने जानकारी दिनुभएको छ । उहाँले ज्यान गुमाएकाहरूका परिवार तथा आफन्तप्रति समवेदना पनि व्यक्त गर्नुभएको छ ।
पाम बिच काउन्टी फायर रेस्क्युले घटनालाई ‘मास क्याजुअल्टी इन्सिडेन्ट’ घोषणा गरेको छ । पाम बिच काउन्टी शेरिफ कार्यालयका अनुसार दुर्घटना ६ लेनको मिलिटरी ट्रेल सडकमा भएको हो । उक्त सडक आसपास विभिन्न व्यवसाय तथा रेस्टुरेन्ट रहेका छन् ।
दुर्घटनापछि नजिकैको ट्रेलर पार्कमा बसोबास गर्ने करिब ६०० स्थानीयलाई सुरक्षित स्थानमा सारिएको स्थानीय अधिकारीहरूले बताएका छन् । विमान दुर्घटनाले स्थानीय पूर्वाधारमा समेत क्षति पुर्याएको छ । पानीका पाइपलाइनमा क्षति पुगेकाले सडक पुनः सञ्चालन हुन कम्तीमा ३० दिन लाग्न सक्ने अधिकारीहरूको भनाइ छ ।
दुर्घटनाका बेला उक्त क्षेत्रमा मेघगर्जनसहित वर्षा भइरहेको थियो ।














प्रतिक्रिया दिनुहोस्