काठमाडौं, कात्तिक १६ । साउदी अरबको आभा सहरमा सम्भावित खतरालाई ध्यानमा राख्दै आइतबार राष्ट्रिय आपत्कालीन चेतावनी जारी गरिएको छ ।
बीबीसी उर्दुका अनुसार प्रशासनले नागरिकलाई शान्त रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।
साउदीको नागरिक रक्षा विभागले जारी गरेको निर्देशनमा मानिसहरूलाई तत्काल सुरक्षित स्थानमा वा घरभित्र झ्याल नभएको कोठामा जान भनिएको छ । अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन तथा खतरा टरेको सूचना नआएसम्म खुला ठाउँ, झ्याल, बाल्कोनी र छानाबाट टाढा रहन पनि सुझाव दिइएको छ ।
विभागका अनुसार घरबाहिर रहेका व्यक्तिले नजिकैको भवन वा बलियो पर्खालको आडमा आश्रय लिनुपर्नेछ । गाडी चलाइरहेकाहरूलाई सुरक्षित स्थानमा गाडी रोक्न र पुल तथा अग्ला भवनबाट टाढा रहन निर्देशन दिइएको छ ।
अधिकारीहरूले नागरिकलाई जोखिमयुक्त क्षेत्र र भीडभाडबाट टाढा रहन आग्रह गरेका छन् ।
प्रशासनले मिसाइल, ड्रोन वा तिनको सम्भावित प्रभावसँग सम्बन्धित कुनै पनि सूचना, तस्बिर वा भिडियो सार्वजनिक नगर्न चेतावनी दिएको छ । त्यस्ता सामग्री सार्वजनिक गरे कानुनी कारबाही हुन सक्ने प्रशासनको भनाइ छ ।
साउदी अधिकारीहरूले नागरिकलाई आधिकारिक स्रोतबाट प्राप्त सूचनामा मात्रै विश्वास गर्न र आपत्कालीन अवस्थामा सम्बन्धित आपत्कालीन नम्बरमा सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।














प्रतिक्रिया दिनुहोस्