झापा, कात्तिक १६ । पूर्वपश्चिम राजमार्गअन्तर्गत एसियाली राजमार्गका रूपमा स्तरोन्नति भइरहेको काँकरभिट्टा–लौकही सडक निर्माणमा देखिएका अवरोध हटाउन स्थानीय प्रशासनले पहल थालेको छ।
स्थानीयका माग, निर्माण सामग्रीको अभाव र विद्युत् पोल व्यवस्थापनमा देखिएको समस्याका कारण निर्माण प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालय झापाले समाधानका लागि सक्रियता देखाएको हो।
निर्माणमा देखिएका समस्या पहिचान गरी समाधानको उपाय खोज्न प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले शनिबार आयोजनाका प्रतिनिधिसहित निर्माणाधीन सडकखण्डको स्थलगत निरीक्षण गर्नुभयो।
निर्माण कम्पनी इभ्रास्कन–कालिका जेभीका क्षेत्रीय महाप्रबन्धक उज्ज्वल प्रसाईँका अनुसार स्थानीयका माग र निर्माण सामग्रीको उपलब्धतामा देखिएको समस्याले सडक निर्माण प्रभावित भइरहेको छ। सुरुआती डिजाइन परिवर्तन गरी सडकलाई व्यवस्थित र यात्रुमैत्री बनाउन जनप्रतिनिधि, राजनीतिक दल तथा स्थानीयवासीले माग गरेपछि कतिपय स्थानमा काम रोकिएको उहाँले बताउनुभयो।
प्रसाईँले सरकारले समयमै काम सम्पन्न गर्न निर्देशन दिए पनि आवश्यक निर्माण सामग्री समयमा उपलब्ध नहुँदा समस्या भइरहेको बताउनुभयो। ओभरपास निर्माणका लागि आवश्यक तीन लाख घनमिटर माटोको राजस्व बुझाइसक्दा पनि स्थानीय तहबाट प्रक्रिया अघि नबढेको उहाँको भनाइ छ।
आयोजनाका इन्जिनियर आश्रय महतका अनुसार काँकरभिट्टामा सुरुआती डिजाइनमा नरहेको ओभरपास निर्माण गर्नुपर्ने, धुलाबारीमा बस स्ट्यान्ड व्यवस्थापन गर्नुपर्ने, चारआलीको ओभरपास क्षेत्रमा देखिएको अवरोध हटाउनुपर्ने तथा विद्यालय क्षेत्रमा ओभरपास निर्माण गर्नुपर्ने मागले काममा समस्या भएको छ।
त्यस्तै, सडक विस्तारका क्रममा सहरी क्षेत्रमा रहेका विद्युत् पोल समयमै स्थानान्तरण हुन नसक्दा पनि निर्माण प्रभावित भएको छ। कालोपत्रका लागि आवश्यक अस्फाल्ट चिप्स र प्रबलित माटोको पर्खाल (आरई वाल) निर्माणमा प्रयोग हुने ब्याकफिलिङ सामग्रीको स्रोत तथा नियमित आपूर्तिमा समेत कठिनाइ रहेको आयोजना कार्यालयले जनाएको छ।
यी समस्या समाधानका लागि निर्माण कम्पनी तथा आयोजनाका प्रतिनिधिले गत साताको मङ्गलबार जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी पोखरेललाई जानकारी गराएका थिए। त्यसपछि प्रशासनले समस्याको स्थलगत जानकारी लिन निरीक्षण गरेको हो।
निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी पोखरेलले आवश्यक निर्माण सामग्रीको अभाव हुन नदिन तथा स्थानीयस्तरमा देखिएका समस्या समाधान गर्न सरोकारवालासँग विभिन्न चरणमा छलफल भइरहेको बताउनुभयो।
उहाँले झापाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा सम्बन्धित स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिनुभयो। सडक निर्माणका क्रममा हटाउनुपर्ने विद्युत् पोल व्यवस्थापनका लागि नेपाल विद्युत् प्राधिकरणको कोशी प्रादेशिक कार्यालय विराटनगरसँग पनि समन्वय गरिएको उहाँले बताउनुभयो।
एसियाली विकास बैंकको वित्तीय सहयोगमा झापाको काँकरभिट्टादेखि सुनसरीको लौकहीसम्म ९५ किलोमिटर सडक स्तरोन्नति भइरहेको छ। यसमध्ये काँकरभिट्टादेखि सीतापुरीसम्मको ४५ किलोमिटर पूर्वीखण्ड निर्माणको ठेक्का इभ्रास्कन–कालिका जेभीले पाएको छ। उक्त खण्ड निर्माणका लागि १० अर्ब ६ करोड ९४ लाख ८२ हजार ७१२ रुपैयाँमा ठेक्का सम्झौता भएको हो।
२०८० माघ १९ गतेदेखि निर्माण सुरु भएको आयोजनामा एसियाली विकास बैंकको ८४ दशमलव ९ प्रतिशत र नेपाल सरकारको १५ दशमलव १ प्रतिशत लगानी रहेको छ।
आयोजनाका इन्जिनियर महतका अनुसार निर्माण सम्झौताको अवधि सकिन करिब तीन महिना बाँकी रहँदा पूर्वी खण्डको भौतिक प्रगति ५६ प्रतिशत पुगेको छ। सम्झौता अवधिभित्र प्रगति ७० प्रतिशत पुर्याउने र चालु आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो।
प्रमुख जिल्ला अधिकारी पोखरेलले सडक निर्माणलाई तीव्रता दिन तथा सुरक्षित आवागमन सुनिश्चित गर्न निर्माण कम्पनी र आयोजनाका प्रतिनिधिलाई आग्रह गर्नुभएको छ। उहाँले व्यवस्थित डाइभर्सन, पर्याप्त साङ्केतिक चिह्न र प्रभावकारी ट्राफिक व्यवस्थापनमा समेत ध्यान दिन निर्देशन दिनुभएको छ।














प्रतिक्रिया दिनुहोस्