काठमाडौं, कात्तिक १६ । सिन्धुलीमा टिपर दुर्घटना हुँदा चार जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
आइतबार साँझ फिक्कल गाउँपालिका–६ तीनखण्डेस्थित मध्यपहाडी लोकमार्गमा घुर्मीबाट खाङसाङतर्फ जाँदै गरेको मधेश प्रदेश ०१-००१ ख ०६४७ नम्बरको टिपर दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार अनियन्त्रित भएको टिपर सडकबाट करिब ५० मिटर तल खसेको थियो । दुर्घटनाका बेला टिपरमा चालकसहित चार जना सवार थिए ।
दुर्घटनामा ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ टक्सारका २९ वर्षीय चालक महेश कटेल र सिन्धुलीको फिक्कल गाउँपालिका–५ का २९ वर्षीय माधव लुइँटेल गम्भीर घाइते भएका छन् । दुवै जनाको टाउको तथा शरीरमा चोट लागेको प्रहरीले जनाएको छ ।
त्यस्तै, उदयपुरको कटारी नगरपालिका–१४ बोटेनीका २६ वर्षीय दीपक जोशी र सिन्धुलीको दुधौली नगरपालिका–१४ काभ्रेका २८ वर्षीय हरि बानियाँ मध्यम घाइते भएका छन् ।
घाइते चारै जनालाई उपचारका लागि उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ केयर पठाइएको छ ।
प्रहरी चौकी रत्नावतीबाट प्रहरी सहायक निरीक्षक राजकुमार माझी थारूको कमान्डमा खटिएको टोलीले घटनास्थलमा पुगेर घाइतेको उद्धार गरेको थियो ।














प्रतिक्रिया दिनुहोस्