काठमाडौं, कात्तिक १६ । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा भारी हिमपातका कारण फसेका ६ जना भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। उद्धार गरिएका सबै पर्यटकको अवस्था सामान्य रहेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शे–फोक्सुण्डो गाउँपालिका–८ मा भारी हिमपातका कारण ६ जना भारतीय पर्यटक फसेको जानकारी कात्तिक १४ गते प्राप्त भएको थियो। पर्यटकहरू हिमपातका कारण बाहिर निस्कन नसकी जोखिमपूर्ण अवस्थामा रहेको सूचना प्राप्त भएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर उद्धारका लागि आवश्यक प्रक्रिया अघि बढाइएको थियो।
उद्धारका लागि नेपाली सेना र निजी हेलिकप्टरसँग समन्वय गरिएको भए पनि प्रतिकूल परिस्थितिसँगै प्राविधिक समस्याका कारण तत्काल उद्धार सम्भव हुन सकेको थिएन।
कात्तिक १५ गते सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर पठाउने तयारी गरिएको थियो। तर, प्राविधिक समस्याका कारण उडान हुन सकेन। त्यसपछि सिम्रिक एयरको हेलिकप्टरमार्फत उद्धार गर्ने प्रयास गरिएको भए पनि त्यसमा समेत प्राविधिक समस्या देखिएपछि उद्धार कार्य रोकिएको थियो।
लगातारको प्रयासपछि आज १६ गते बिहान पर्यटकहरूको उद्धार सम्भव भएको हो। पोखराबाट आएको सिम्रिक एयरको हेलिकप्टर बिहान ७ बजेर २० मिनेटमा डोल्पाको दुनैमा अवतरण गरेको थियो। त्यसको १५ मिनेटपछि बिहान ७ बजेर ३५ मिनेटमा हेलिकप्टर उद्धारका लागि शे–फोक्सुण्डो गाउँपालिका–५ स्थित दानिगढतर्फ प्रस्थान गरेको थियो।
प्रहरीका अनुसार बिहान ९ बजेर २५ मिनेटमा ६ जना भारतीय पर्यटकको सफलतापूर्वक उद्धार गरिएको छ ।
को–को हुन् उद्धार गरिएका पर्यटक ?
उद्धार गरिएका ६ जना भारतीय नागरिकमध्ये पश्चिम बङ्गालका दुई, साउथ २४ परगनाका तीन र आन्ध्र प्रदेशका एक जना रहेका छन् ।उद्धार गरिएका पर्यटकहरूमा भारतको पश्चिम बङ्गालस्थित हाउडाकी ३४ वर्षीया प्याली कोली र ३५ वर्षीया मोमिता हल्दार, साउथ २४ परगनाका २४ वर्षीया दिपलिना विश्वास, ३२ वर्षीय राजेश देव र ३२ वर्षीय आदित्य सिंह तथा आन्ध्र प्रदेशको करपाका २८ वर्षीय जजला त्रिवेत कुमार रहेका छन्।
हेलिकप्टरबाट उद्धार गरिएका सबै पर्यटकलाई थप स्वास्थ्य परीक्षण तथा उपचारका लागि जिल्ला अस्पताल दुनै ल्याइएको थियो। अस्पतालमा सामान्य उपचारपछि सबै जना डिस्चार्ज भएका छन्। नेपाल प्रहरीका अनुसार उद्धार गरिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
डोल्पाको शे–फोक्सुण्डो क्षेत्र प्राकृतिक सौन्दर्य, हिमाली भूगोल र साहसिक पर्यटनका लागि चर्चित गन्तव्य हो। तर, उच्च हिमाली क्षेत्रमा मौसममा अचानक आउने परिवर्तन, भारी हिमपात र प्रतिकूल भौगोलिक अवस्थाका कारण पर्यटकहरू जोखिममा पर्न सक्ने भएकाले भ्रमणका क्रममा मौसमको जानकारी, आवश्यक तयारी र सुरक्षामा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।














प्रतिक्रिया दिनुहोस्