जनता टाइम्स

१६ कार्तिक २०८३, सोमबार ११:२६

प्रधानमन्त्रीले संविधान मान्ने कि नमान्ने ? आफ्नो कित्ता स्पष्ट पार्नुस् : जेनजी अभियन्ता रक्षा बम


काठमाडौं, कात्तिक १६ । जेनजी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीलाई संविधान, लोकतन्त्र र विधिको शासनप्रतिको आफ्नो प्रतिबद्धता स्पष्ट पार्न सार्वजनिक चुनौती दिनुभएको छ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीले संविधान र लोकतान्त्रिक शासन व्यवस्थालाई मान्ने कि नमान्ने भन्ने विषयमा आधिकारिक रूपमै आफ्नो धारणा सार्वजनिक गर्न आग्रह गर्नुभएको हो। बमले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “प्रधानमन्त्रीले संविधान मान्ने कि नमान्ने ? लोकतन्त्र र विधिको शासन मान्ने कि नमान्ने? आधिकारिक रूपमै आफ्नो कित्ता क्लियर पार्नुस्। अनि हेरौँला, तपाईंहरूको स्वेच्छाचारिताको कित्तामा को उभिन्छ र संविधानको कित्तामा को !”

उहाँको यस अभिव्यक्तिले सरकारको कार्यशैली, संवैधानिक मर्यादा र लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धताबारे उठिरहेको बहसलाई थप सतहमा ल्याएको छ।

विशेषगरी पछिल्लो समय सरकारका गतिविधि, प्रहरीको कार्यशैली तथा पत्रकार पक्राउ प्रकरणलाई लिएर सार्वजनिक वृत्तमा प्रश्न उठिरहेका बेला बमको यो टिप्पणी आएको हो।

बमले आफ्नो अभिव्यक्तिमार्फत प्रधानमन्त्री तथा सरकारलाई संविधान र विधिको शासनको पक्षमा स्पष्ट उभिन आग्रह गर्नुभएको देखिन्छ। उहाँको भनाइको आशय सरकार सञ्चालनमा व्यक्तिको इच्छा र स्वेच्छाचारिताभन्दा संविधान, कानुन र लोकतान्त्रिक विधिलाई प्राथमिकता दिनुपर्छ भन्ने रहेको छ।

लोकतान्त्रिक व्यवस्थामा सरकारको शक्ति संविधानबाट निर्देशित हुन्छ। प्रधानमन्त्रीसहित राज्यका सबै पदाधिकारी संविधान र कानुनप्रति उत्तरदायी हुनुपर्छ। त्यसैले संविधानको सर्वोच्चता, नागरिक स्वतन्त्रता र विधिको शासनको विषयमा सरकारको स्पष्ट धारणा र व्यवहार दुवै महत्त्वपूर्ण मानिन्छन्।

बमको उक्त अभिव्यक्तिले प्रधानमन्त्रीको नेतृत्वमा रहेको सरकारको संवैधानिक प्रतिबद्धता र कार्यशैलीबारे सार्वजनिक बहसलाई थप तीव्र बनाएकाे छ।