जनता टाइम्स

१६ कार्तिक २०८३, सोमबार ११:४९

प्रधानमन्त्री पत्नीलाई सूर्य थापाको प्रश्न : रातो कार्पेटमा निलो सल लतार्दै हिँड्ने पम्फादेवीकै नक्कल हो की अरु कसैको प्रभाव ?


काठमाडौं, कात्तिक १६ । प्रधानमन्त्री बालेन्द्र साहकी पत्नी सविना काफ्लेको पहिरनलाई लिएर नेकपा एमालेका नेता सूर्य थापाले सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक टिप्पणी गर्नुभएको छ। प्रधानमन्त्री पत्नीको सार्वजनिक उपस्थितिमा देखिएको पहिरनलाई पञ्चायतकालीन ‘पम्फादेवी’ को प्रसंगसँग जोड्दै उहाँले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गर्नुभएको हो।

प्रधानमन्त्री पत्नी काफ्ले हालै एक कार्यक्रममा रातो कार्पेटमा हिँडिरहेको तस्बिर सामाजिक सञ्जालमा चर्चामा आएपछि नेता थापाले उक्त तस्बिरलाई आधार बनाएर आफ्नो टिप्पणी सार्वजनिक गर्नुभएको छ । थापाले फेसबुकमा काफ्लेको तस्बिर राख्दै पञ्चायतकालको अन्त्यतिर तत्कालीन राजपरिवारसँग जोडिएर चर्चामा रहेको ‘पम्फादेवी’ प्रसंग स्मरण गर्नुभएको छ। उहाँले प्रधानमन्त्रीको पहिरन शैली र प्रधानमन्त्री पत्नीको सार्वजनिक उपस्थितिलाई समेत व्यङ्ग्यको विषय बनाउनुभएको छ।

थापाले लेख्नुभएको छ, “अहिले निलो सल लगाउँदै हिँड्ने नयाँ भेरियन्ट सार्वजनिक भयो । महेन्द्रको नक्कल गर्दै रिमिक्समा गोल्डस्टार सेतो जुत्ता, कालो टिसर्ट र कोट लगाएर संसदमा जाने अभ्यास त छँदै थियो । रातो कार्पेटमा यो निलो सल लतार्दै खच्याङखच्याङ हिँड्ने पनि पम्फादेवीकै नक्कल हो की अरु कसैको प्रभाव छ ?”

उहाँले प्रधानमन्त्री र फर्स्ट लेडीको पहिरनका लागि निश्चित ड्रेसकोड हुनुपर्ने मान्यताका आधारमा आफूले यस्तो टिप्पणी गरेको पनि उल्लेख गर्नुभएको छ।

पञ्चायतकालमा ‘पम्फादेवी’ भन्ने उपनाम तत्कालीन रानी ऐश्वर्यसँग जोडिएर चर्चामा रहेको थियो। त्यही प्रसंगलाई वर्तमान राजनीतिक नेतृत्वको परिवारसँग जोडेर गरिएको थापाको टिप्पणीले प्रधानमन्त्री पत्नीको सार्वजनिक छवि, पहिरन र राजनीतिक व्यङ्ग्यको सीमाबारे बहस जन्माएको छ।