जनता टाइम्स

१७ कार्तिक २०८३, मंगलबार १३:१३

फूल तथा माला बिक्रीका लागि महानगरले तोक्यो स्थान, प्लास्टिकका फूल बेच्न प्रतिबन्ध


काठमाडौं, कात्तिक १७ । काठमाडौँ महानगरपालिकाले तिहारलाई लक्षित गर्दै फूल तथा माला बिक्री वितरणका लागि स्थान तोकेको छ। महानगरले दीपावली पर्वका अवसरमा स्वदेशी फूल र मालाको बिक्रीलाई प्राथमिकता दिन व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गरेको छ।

महानगरपालिकाले यस वर्ष महानगर क्षेत्रभित्र प्लास्टिकजन्य फूल, फूलका माला तथा सजावटका विभिन्न सामग्री बिक्री वितरण नगर्न र नगराउन अनुरोध गरेको छ।

महानगरले सम्पूर्ण व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई स्वदेशी फूल र मालाको बिक्री वितरणलाई प्राथमिकता दिन आग्रह गरेको हो।

महानगरपालिकाले जारी गरेको सूचनामा प्रतिबन्धको अवज्ञा गरी प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, माला तथा सजावटका सामग्री बिक्री वितरण गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिने उल्लेख छ।

तिहारमा फूल तथा मालाको माग बढ्ने भएकाले महानगरले स्वदेशी उत्पादनको प्रवर्द्धन र प्लास्टिकजन्य सामग्रीको बिक्री नियन्त्रणमा जोड दिएको हो।