काठमाडौं, कात्तिक २० । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोज र सुदूरपश्चिम रोयल्सले जित हात पारेका छन्। शुक्रबार भएका खेलमा चितवनले पोखरा एभेन्जर्सलाई ३० रनले तथा सुदूरपश्चिमले कर्णाली याक्सलाई ३९ रनले पराजित गरेका हुन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवनले दिएको १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा १२१ रनमै अलआउट भयो। यससँगै चितवनले चार खेलबाट दोस्रो जित निकाल्दै पाँच अंकसहित अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ। लगातार चौथो हार बेहोरेको पोखरा भने अंकविहीन हुँदै पुछारमा छ।
पोखराका लागि अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाए। उनले ४४ बलमा तीन चौका र एक छक्का प्रहार गरे। युवराज सम्राले १९ तथा किरण ठगुन्ना र अर्जुन घर्तीले समान १२ रन बनाए।
पोखराको ब्याटिङ सुरुवातदेखि नै दबाबमा रह्यो। कुशल भुर्तेल पहिलो ओभरमै चार रन बनाएर आउट भए। त्यसपछि युवराज सम्रा र अर्जुन कुमालले दोस्रो विकेटका लागि ३५ रनको साझेदारी गरे पनि नियमित अन्तरमा विकेट गुमाउँदा पोखरा लक्ष्यसम्म पुग्न सकेन।
बलिङमा चितवनका रिजन ढकालले चार ओभरमा २४ रन खर्चेर चार विकेट लिए। कमल सिंह ऐरीले दुई ओभरमा एक मेडनसहित सात रन दिएर तीन विकेट झारे। डान मोस्ले, मौसम ढकाल र कुशल मल्लले एक–एक विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको थियो। कप्तान सिकन्दर राजाले १६ बलमा दुई चौका र चार छक्कासहित सर्वाधिक ३७ रन बनाए। रवि बोपाराले ३५, अर्जुन साउदले ३१ र डाविड मालानले २८ रन जोडे।
अर्जुन साउद र मालानले पहिलो विकेटका लागि ६० रनको साझेदारी गर्दै चितवनलाई राम्रो सुरुवात दिलाएका थिए। पोखराका बलर चमिका करुणारत्ने, विपिन खत्री र कुशल भुर्तेलले समान दुई विकेट लिए।
यस खेलमा पोखराले लगातार तीन हारपछि कप्तान परिवर्तन गरेको थियो। कुशल भुर्तेलको स्थानमा श्रीलंकाली खेलाडी चमिका करुणारत्नेलाई कप्तानीको जिम्मेवारी दिइए पनि टोलीले हारको शृंखला तोड्न सकेन।
सुदूरपश्चिमसँग कर्णाली ३९ रनले पराजित
शुक्रबारकै अर्को खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले हराएको छ। सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा सात विकेट गुमाएर १३७ रन मात्रै बनाउन सक्यो।
कर्णालीका डेभिड मिलरले अविजित ९३ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। उनले जारी प्रतियोगिताकै सर्वाधिक व्यक्तिगत स्कोर बनाएका हुन्। दीपक डुम्रेले १८ रन जोड्दा अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्।
कर्णालीले सुरुवातमै विकेट गुमाएको थियो। पहिलो ओभरको दोस्रो बलमै अरिफुल इस्लाम शून्यमा आउट भए। पावरप्लेमा तीन विकेट गुमाएर ३५ रन बनाएको कर्णालीले १० ओभरमा पाँच विकेट गुमाउँदा ५० रन मात्रै जोडेको थियो। ठूलो लक्ष्य पछ्याउने क्रममा आवश्यक रनरेट कायम गर्न नसक्दा मिलरको संघर्षपूर्ण इनिङ्स पनि टोलीका लागि पर्याप्त भएन।
सुदूरपश्चिमका स्कट कुगलेइनले दुई विकेट लिए। दीपेन्द्र सिंह ऐरी, अनिल खरेल, हेमन्त धामी, अभिनाष बोहरा र थारिन्दु रत्नायकेले एक–एक विकेट हात पारे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो। ओपनर सैफ जइबले ३५ र विनोद भण्डारीले २७ रन बनाए। ब्रेन्डन म्याकमुलनले २४, ईशान पाण्डेले २३ तथा थारिन्दु रत्नायकेले अविजित २२ रन जोडे। स्कट कुगलेइन १३ रनमा अविजित रहे।
कर्णालीका मार्क वाटले दुई तथा नन्दन यादव, सूर्य तामाङ र हुसैन तलातले एक–एक विकेट लिए।
यस जितसँगै सुदूरपश्चिमले प्रतियोगितामा अर्को महत्वपूर्ण दुई अंक जोडेको छ। कर्णाली भने तेस्रो हार बेहोर्न बाध्य भएको छ। यसअघि कर्णालीले जनकपुर बोल्ट्स र विराटनगर किङ्सलाई हराएको थियो भने काठमाडौं गोर्खाजसँग पराजित भएको थियो।














प्रतिक्रिया दिनुहोस्