जनता टाइम्स

२० कार्तिक २०८३, शुक्रबार २१:०७

मधेस प्रदेश सरकारबाट नेकपा पनि बाहिरियो, चार मन्त्रीले दिए राजीनामा


काठमाडौं, कात्तिक २० । नेपाली कम्युनिष्ट पार्टी पनि मधेस प्रदेश सरकारबाट बाहिरिएको छ। पार्टीबाट मधेस प्रदेश सरकारमा सहभागी चारजना मन्त्रीले शुक्रबार आ–आफ्नो पदबाट राजीनामा दिनुभएको हो।

राजीनामा दिने मन्त्रीहरूमा अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटनमन्त्री कनिष पटेल, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहरलाल कुशवाहा र गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो रहनुभएको छ।

मन्त्रीहरूले राजीनामा पत्रमा राजनीतिक निकासका लागि पदबाट राजीनामा दिएको उल्लेख गर्नुभएको छ।

चार मन्त्रीले राजीनामा दिएसँगै नेपाली कम्युनिष्ट पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ।

पार्टी सरकारबाट बाहिरिएपछि मधेस प्रदेश सरकारको राजनीतिक समीकरणमा परिवर्तन आएको छ।

यस अघि नेकपा एमाले पनि सरकारबाट बाहिरिएको थियो । एमाले असोज ३० गते सरकारबाट बाहिरिएको हो। 

 मधेस प्रदेशमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव मुख्यमन्त्री हुनुहुन्छ ।  गठबन्धनबाट दुई दल बाहिरिएपछि कांग्रेस नेतृत्वको सरकार संकटमा परेको छ । 

मधेस प्रदेशमा नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) नेपाल सम्मिलित नयाँ गठबन्धन सरकार गठनको तयारी अघि बढेको छ। जसपाले नेतृत्व गर्ने गरी सरकार गठन प्रक्रिया अघि बढेको नेताहरूले बताएका छन् ।