काठमाडौं, कात्तिक २१ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्न चाँडै ठूलो सम्झौता हुन सक्ने सङ्केत गर्नुभएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष दूत किरिल दिमित्रीभसँग ह्वाइट हाउसमा भेटवार्ता गरेलगत्तै ट्रम्पले यस्तो बताउनुभएको हो । उहाँका अनुसार प्रस्तावित सम्झौतामा युक्रेनसँगै युरोपका अन्य देश पनि सहभागी हुन सक्नेछन् ।
तर सम्झौताका मुख्य प्रावधान, सहभागी हुने देश र रुस–युक्रेनले गर्नुपर्ने सम्भावित सहमतिबारे उहाँले विस्तृत जानकारी दिनुभएको छैन ।
ट्रम्प र दिमित्रीभबीचको भेटवार्ताले युक्रेनको प्रत्यक्ष सहभागिताबिनै अमेरिका र रुसले युरोपेली सुरक्षा व्यवस्थाबारे छलफल गरिरहेको हुन सक्ने प्रश्नसमेत उठाएको छ ।
यसैबीच, अमेरिकी मध्यस्थतामा रुस र युक्रेनका प्रतिनिधिबीच संयुक्त अरब इमिरेट्सको अबुधाबीमा वार्ता हुने तयारी छ । कूटनीतिक प्रयास तीव्र भए पनि दुवै देशबीचका मतभेद अझै कायमै छन् ।
हवाई तथा ड्रोन आक्रमणसमेत जारी रहेकाले युद्ध अन्त्यका लागि तत्काल ठोस सहमति हुने सम्भावना भने अझै अनिश्चित देखिएको छ ।














प्रतिक्रिया दिनुहोस्