जनता टाइम्स

२१ कार्तिक २०८३, शनिबार ०७:४७

तिहारसहितका चाडपर्वमा देशभर सुरक्षा कडा, ड्रोन र तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन


काठमाडौं, कात्तिक २१ । तिहार, दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा पारेको छ ।

चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, जुवातास, लागुऔषध तथा मादक पदार्थको दुरुपयोग, झैझगडा, कालोबजारी र आगलागीजस्ता घटना नियन्त्रण गर्न विशेष सुरक्षा योजना लागू गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार बजार, धार्मिकस्थल, सार्वजनिक यातायात केन्द्र, सीमा नाका र बढी भीडभाड हुने क्षेत्रमा प्रहरी परिचालन तथा निगरानी बढाइएको छ । सुरक्षा निगरानीका लागि सीसीटीभी, शरीरमा जडित क्यामेरा, ड्रोन र तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिनेछ ।

प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्लेले नियमित गस्ती, आकस्मिक जाँच र सादा पोसाकमा प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो । जोखिमयुक्त क्षेत्रमा द्रुत परिचालन टोली र विपद् व्यवस्थापनका जनशक्तिलाई पनि तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।

चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले सडक सुरक्षालाई पनि प्राथमिकता दिइएको छ । देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी कम्तीमा एक हजार १६५ प्रहरी परिचालन गरिएको छ । अन्तर्राष्ट्रिय सीमा नाकाका १०८ स्थानमा पनि सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ ।

लामो दूरीका सवारीसाधनका चालकको अनुमतिपत्र, मादक पदार्थ तथा लागुऔषध सेवनको अवस्था र सवारीसाधनको यान्त्रिक अवस्था जाँच गरिनेछ । लामो दूरीका सवारीमा दुई जना चालक राख्नुपर्ने व्यवस्थाको कार्यान्वयनमा पनि निगरानी बढाइएको छ ।

सीमा नाकाका सहायता कक्षमार्फत स्वदेश फर्किने नागरिकलाई सम्भावित ठगी, लुटपाट तथा दुर्व्यवहारबाट जोगाउन आवश्यक सहयोग उपलब्ध गराइने प्रहरीले जनाएको छ ।