काठमाडौं, कात्तिक २१। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपक बोहराले प्रहरीले गर्ने मोबाइल तथा डिजिटल प्रमाणको परीक्षण निष्पक्ष हुनेमा प्रश्न उठाउनुभएको छ ।
शुक्रबार संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चन्द्रबहादुर सारुको सुनुवाइका क्रममा बोहराले प्रहरी आफैँ अनुसन्धानकर्ता र अभियोजनकर्ता हुने अवस्थामा डिजिटल प्रमाणको परीक्षणमा स्वार्थ बाझिन सक्ने आशंका व्यक्त गर्नुभयो ।
पछिल्लो समय चर्चामा रहेको इनम सापकोटा पक्राउ प्रकरणमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेलले सापकोटाको मोबाइल दुई दिनसम्म आफ्नै घरमा राखेपछि मात्रै प्रहरीलाई बुझाएको विषय सार्वजनिक भएको थियो । यही घटनालाई संकेत गर्दै बोहराले प्रहरीको अनुसन्धान प्रक्रियामाथि प्रश्न उठाउनुभएको हो ।
प्रहरीकै प्रयोगशालामा मोबाइल परीक्षण हुँदा आफूअनुकूलका सामग्री मात्रै छनोट गर्ने र अन्य प्रमाण लुकाउन सक्ने सम्भावना रहने भन्दै उहाँले निष्पक्षता कसरी कायम हुन्छ भन्ने प्रश्न गर्नुभयो ।
जवाफमा न्यायाधीशमा प्रस्तावित सारुले अनुसन्धानको निष्पक्षता र वैज्ञानिक परीक्षणको विश्वसनीयता कायम गर्न राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) जस्ता स्वतन्त्र निकायको प्रयोग गर्न सकिने बताउनुभयो ।
डिजिटल प्रमाणको परीक्षणमा स्वतन्त्र निकायको भूमिका प्रभावकारी बनाउन सकिने उहाँको भनाइ थियो ।














प्रतिक्रिया दिनुहोस्