काठमाडौं, कात्तिक २१ । नेपाली कांग्रेसका इतर पक्षका नेता डाक्टर प्रकाशशरण महतले पार्टीका सभापति गगन थापामाथि कडा प्रश्न गर्नुभएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अरूमाथि आरोप लाग्दा पदबाट हटाउनुपर्छ भन्नेले आफूमाथि लाग्दा के गर्नुहुन्छ ? भन्दै कडा प्रश्न गर्नुभएको हो ।
कांग्रेस सभापति गगनमाथि पार्टीको आधिकारिकता सम्बन्धी विवादमा बिचौलियासँग १८ करोडको चलखेल गरेको आरोप लागेको छ। उहाँले विगतमा पार्टीका नेताहरूमाथि राज्यसत्ताको प्रयोग गरेर प्रमाणबिनै आरोप लगाइएको अवस्थामा समेत चर्को विरोध गरेको स्मरण गराउनु भयो ।
‘अरूलाई पर्दाखेरि त यिनीहरू सबै खत्तम हुन्, हामी मात्रै पवित्र र ठीक छौँ, अरूलाई सरकारले हटाउनुपर्छ भन्ने साथीहरू आज आफूमाथि त्यस्तै आरोप लागेपछि कसरी हाम्रो विरुद्ध यस्तो भयो भन्दै हुनुहुन्छ,’ महतले भन्नुभयो ।
कांग्रेसलाई व्यक्तिवादी नभई सिद्धान्तनिष्ठ, विधिसम्मत र संस्थागत संस्कारअनुसार चल्ने पार्टी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विशेष महाधिवेशन पक्षधरले पार्टीमा विचार, विधान र संस्कारलाई प्राथमिकता नदिएको आरोप लगाउनु भयो।
कांग्रेसमा विगतदेखि नै प्रतिस्पर्धा, बहस र फरक मतलाई स्वीकार गर्दै सबैको भावना र दृष्टिकोण समेटेर निष्कर्षमा पुग्ने परम्परा रहेको बताउँदै अहिले भने पार्टीमा संस्कार, विचार र विधानको पालना कमजोर हुँदै गएको आरोप पनि लगाउनु भयो ।
‘न संस्कार छ, न विचार छ, न विधान छ। यस्तो कुरालाई हामीले स्वीकार गर्ने हो भने अनि हामी कांग्रेस हुन्छौं ?’ महतले भन्नुभयो । उहाँले रूख चुनाव चिह्न मात्र नभई नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवाद र राजनीतिक विचारधाराको प्रतीक भएको बताउनु भयो।
पार्टीको आधिकारिकतासम्बन्धी विषय अदालतमा विचाराधीन रहेकाले त्यसको निर्णय आउन बाँकी रहेको अवस्थामा चुनाव चिह्न र आधिकारिकताबारे अनिश्चितता सिर्जना गरिएको पनि उहाँले बताउनु भयो । आधिकारिकता कसले पाउने भन्ने अन्योलका कारण पार्टीभित्र डर र त्रासको वातावरण बनेको महतले बताउनु भयो ।














प्रतिक्रिया दिनुहोस्