जनता टाइम्स

२७ कार्तिक २०८३, शुक्रबार १३:४५

राष्ट्रिय भेलाको लागि एमालेको अन्तिम तयारी बैठक


काठमाडौं, कात्तिक २७। नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र पारेको छ। भेलालाई भव्य, व्यवस्थित र उत्साहपूर्ण रूपमा सम्पन्न गर्ने उद्देश्यसहित पार्टीले आवश्यक व्यवस्थापकीय तथा संगठनात्मक तयारीलाई अन्तिम रूप दिइरहेको छ।

एमालेका अनुसार भेलामा देशभरबाट पार्टीका नेता, जनप्रतिनिधि तथा विभिन्न तहका संगठनका प्रतिनिधिसहित कुल ३ हजार ४१४ जनाको सहभागिता रहनेछ।

भेलाको तयारीलाई अन्तिम रूप दिन आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा तयारी बैठक सम्पन्न भएको छ। बैठकमा विभिन्न प्रदेशबाट सहभागी हुने प्रतिनिधिहरूको अवस्था, व्यवस्थापन तथा कार्यक्रम सञ्चालनसम्बन्धी तयारीबारे विस्तृत समीक्षा गरिएको थियो।

बैठकलाई सम्बोधन गर्दै पार्टी महासचिव शंकर पोखरेलले स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर पार्टीका नेता तथा कार्यकर्तामाझ एकीकृत सन्देश प्रवाह गर्नु भेलाको मुख्य उद्देश्य रहेको बताउनुभयो। पार्टीको आन्तरिक जीवन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, जनजीविकाका सवाल र आगामी राजनीतिक चुनौतीबारे साझा बुझाइ निर्माण गर्दै पार्टी पंक्तिलाई स्थानीय निर्वाचनको तयारीमा परिचालित गर्ने लक्ष्य रहेको उहाँले स्पष्ट पार्नुभयो।

बैठकमा पार्टी सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलगायत नेताहरूको उपस्थिति रहेको थियो। भेलाको तयारीका लागि जिम्मेवारी पाएका विभिन्न प्रदेशका फोकल पर्सनहरूले आ–आफ्नो प्रदेशबाट हुने सहभागिताबारे जानकारी गराएका थिए। उनीहरूले प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहने जनाउँदै तयारीका काम तीव्र गतिमा अघि बढिरहेको बताएका थिए।

बैठकको अध्यक्षता गर्नुभएका संगठन विभाग प्रमुख ढकालले भेलालाई सफल बनाउन विभिन्न तहमा जिम्मेवारी बाँडफाँट गरी समन्वयात्मक रूपमा काम भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार कार्यक्रमस्थलमा सभाहल व्यवस्थापन, मञ्च निर्माण, सजावट, प्रचारप्रसार तथा स्वयंसेवक परिचालनलगायतका तयारीलाई तीव्रता दिइएको छ।

ढकालले प्रस्तुत गर्नुभएको विवरणअनुसार भेलामा ३४६ जना केन्द्रीय सदस्य, ८१ जना केन्द्रीय निकायका प्रतिनिधि, ५५ जना प्रदेश, भारत प्रवास तथा प्रवासी नेपाली मञ्चका प्रतिनिधि, ४४० जना जिल्ला तहका प्रतिनिधि र १ हजार ५०६ जना पालिका कमिटीका प्रतिनिधि सहभागी हुनुहुनेछ।

त्यसैगरी संघीय संसद् तथा राष्ट्रिय सभाका ३५ जना, प्रदेशसभाका १५५ जना, स्थानीय तहका प्रमुख तथा अध्यक्ष १९६ जना, उपप्रमुख तथा उपाध्यक्ष ३४२ जना र जनसंगठनका ९६ जना प्रतिनिधिको सहभागिता रहनेछ।

काठमाडौंस्थित कार्की ब्याङ्क्वेटमा आयोजना हुने भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

यातायात व्यवस्थापनलाई सहज र व्यवस्थित बनाउन एमालेले भेलामा सहभागी हुन आउने नेता तथा कार्यकर्तालाई सम्भव भएसम्म निजी सवारीसाधनको सट्टा सार्वजनिक यातायात प्रयोग गरी कार्यक्रमस्थलमा उपस्थित हुन आग्रह गरेको छ।

एमालेले राष्ट्रिय कार्यकर्ता भेलालाई पार्टीको संगठनात्मक एकता सुदृढ गर्ने, नेता तथा कार्यकर्ताबीच साझा धारणा निर्माण गर्ने र आगामी स्थानीय निर्वाचनको तयारीलाई प्रभावकारी रूपमा अघि बढाउने महत्त्वपूर्ण अवसरका रूपमा लिएको छ।