सर्लाही, कात्तिक २७ । मकवानपुरको भीमफेदीमा भएको यात्रुवाहक विद्युतीय गाडी दुर्घटनामा चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका नागरिकसहित यात्रुको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले शुक्रबार स्थानीय शोक बिदा दिएको छ ।
गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै कात्तिक २७ गते शुक्रबार गाउँ कार्यपालिकाको कार्यालय, सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक तथा संस्थागत विद्यालयलगायत सरकारी तथा गैरसरकारी कार्यालयमा एक दिन शोक बिदा दिने निर्णय गरेको जनाएको छ ।
गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवका अनुसार दुर्घटनामा ज्यान गुमाएका गाउँपालिकाका स्थानीय नागरिकका परिवारलाई अन्तिम संस्कार तथा काजक्रिया कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रतिमृतक ५० हजार रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराइनेछ ।
काठमाडौँबाट सर्लाहीको चक्रघट्टा गाउँपालिका आउँदै गरेको यात्रुवाहक विद्युतीय गाडी कात्तिक २६ गते बिहान मकवानपुरको भीमफेदी क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनासहित १४ जनाको मृत्यु भएको थियो भने छ जना घाइते भएका थिए ।
दुर्घटनामा गाउँपालिकाका नागरिकको मृत्यु भएपछि गाउँपालिका परिवारले दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
शोक बिदाको दिन गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी तथा सार्वजनिक कार्यालयबाट नियमित सेवा प्रवाह बन्द रहने गाउँपालिकाले जनाएको छ । स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक स्वास्थ्य सेवा भने नियमित सञ्चालन हुनेछ ।
गाउँपालिकाले शोकको यस घडीमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्न तथा शोकसन्तप्त परिवारप्रति ऐक्यबद्धता प्रकट गर्न गाउँपालिकावासीलाई आग्रह गरेको छ ।















प्रतिक्रिया दिनुहोस्