जनता टाइम्स

२६ कार्तिक २०८३, बिहिबार १८:४३

रक्सी पार्टीको भिडियो सार्वजनिक भएपछि मन्त्री महावीर पुनको स्पष्टीकरण : यही भोज अन्तिम भोज हुने भयो


काठमाडौं, कात्तिक २६ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले साथीहरूसँग गरेको भोजको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उठेका प्रश्न र टिप्पणीबारे फेसबुकमार्फत स्पष्टीकरण दिनुभएको छ ।

मन्त्री पुनले जीवनमा पहिलो पटक केही साथीहरूसँग भेटघाट गर्ने उद्देश्यले सानो भोज आयोजना गर्ने सल्लाह गरेको उल्लेख गर्दै उक्त भोज नै आफ्नो अन्तिम भोज हुने अवस्था आएको टिप्पणी गर्नुभएको छ ।

उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘जीवनमा पहिलो पटक केही साथीहरूसँग भेटघाट गरौँ भनेर डेरामा सानो भोज खाने सल्लाह गरेको थिएँ । यही भोज नै अन्तिम भोज पनि हुने भयो यार । किनभने गण्यमान्य पत्रकार साथीहरूले त मैले देश नै खतम पारेजस्तो गरेर खोतल्न थाले त यार ।’

भोज आयोजना गरिएको स्थानबारे पनि मन्त्री पुनले स्पष्ट पार्नुभएको छ । उहाँका अनुसार उक्त भोज आफ्नो डेरामा नभई मामाको बैठक कोठामा आयोजना गरिएको थियो ।

भोजका लागि आफूले गरेको खर्चबारे उल्लेख गर्दै उहाँले तीन किलो बंगुरको मासु, दुई किलो कुखुराको मासु, साग, धनियाँ, मुला र काँक्रा मात्रै किनेको दाबी गर्नुभएको छ । उहाँका अनुसार चित्र र लुकेश भाइले खाना पकाउनुभएको थियो भने ह्विस्की, वाइन, कोदोको रक्सी र बियर भने भोजमा सहभागी साथीहरूले नै ल्याएका थिए ।

आफूले कुनै कुरा नढाँटेको दाबी गर्दै मन्त्री पुनले लेख्नुभएको छ, ‘सत्ते सत्ते धरोधर्म मैले ढाँटेको होइन । माफ पाऊँ पत्रकार सरकारहरू ! ठूलो गल्ती भएछ ।’

यसअघि मन्त्री पुन साथीहरूसँग भोजमा सहभागी भएको भिडियो सार्वजनिक भएपछि उहाँको गतिविधिबारे सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका थिए । त्यसपछि उहाँले फेसबुकमार्फत भोजको आयोजना, खर्च, स्थान र मदिराको व्यवस्थापनबारे आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो ।

सार्वजनिक पदमा रहेका व्यक्तिको निजी भेटघाट र सामाजिक गतिविधिसमेत सार्वजनिक चासोको विषय बन्ने गरेको अवस्थामा मन्त्री पुनको यो स्पष्टीकरणले उक्त घटनाबारे थप बहस सिर्जना गरेको छ । आफूलाई सादगी देखाउने पुनले मन्त्रालयकै काेठामा बस्ने र ढिँडाे खाएकाे फोटो भिडियाे सार्वजनिक गर्ने गर्दै आउनु भएकाे थियाे ।